• १३ साउन २०८१, आइतबार

फक्ताङ्लुङका किसानलाई कृषि तालिम

blog

फक्ताङ्लुङ गाउँपालिकाका किसानलाई तालिम दिँदै विदेशी कृषि विज्ञ ।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ ५ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका किसानलाई विदेशी प्रशिक्षकले कृषिसम्बन्धी तालिम दिन सुरु गरेको छ । स्वास्थ्यकर अर्थात् अर्ग्यानिक कृषिजन्य वस्तु उत्पादन गर्ने योजनामा जुटेका स्थानीय किसानलाई विदेशी प्रशिक्षकहरूले तालिम दिन सुरु गरिएको हो ।

फक्ताङ्लुङ गाउँपालिका र हिमालयन एग्रो इकोलोजी डेभलपमेन्ट नामक संस्थाको साझेदारीमा आयोजना गरिएको कृषिसम्बन्धी तालिमको सहजीकरण विदेशी प्रशिक्षकले गरिरहनुभएको छ । सोमबारदेखि सुरु भएको तीनदिने कृषि तालिममा क्यानडाका नागरिक ज्याक वर्टन र आयरल्याण्डका नागरिक चार्ली बाबाले प्रशिक्षण दिँदै आउनुभएको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूका स्वकीय सचिव दिलकुमार पतङ्गवाले जानकारी दिनुभयो । 

पतङ्वाका अनुसार कृषि विज्ञका रूपमा रहनुभएका विदेशी नागरिक ज्याक र चार्लीले माटोको अध्ययन तथा प्रकृतिबारे तालिमका सहभागीलाई जानकारी गराउँदै आउनुभएको छ । यस्तै, वातावरणीय प्रभाव, बिरुवा उत्पादन, कम्पोस्ट मल उत्पादन, मल्चिङ प्रविधि, कटिङ, ग्राफ्टिङ लगायतका विषय साथै रोग कीराको प्रकोप र नियन्त्रणसम्बन्धी केन्द्रित रहेर प्रशिक्षकद्वयले तालिम दिनुहुनेछ ।

हाल नेपालमै रहेर कृषि फार्म सञ्चालन गर्दै आउनुभएका प्रशिक्षक द्वयले यहीँको माटो र हावापानी सुहाउँदो कृषि कर्मबाट प्राप्त गरेको ज्ञान, सीप तथा अनुभव समेतको आधारमा किसानलाई तालिम दिँदै आउनुभएको बताइएको छ । क्यानडाका ज्याक वर्टनले विगत एक वर्ष अघिदेखि इलाम जिल्लामा अल्मोस्ट हेभन फार्म र आयरल्याण्डका चार्ली बाबाले काभ्रेपलान्चोक जिल्लामा पञ्चतत्व जैविक फार्म सञ्चालन गरेर कृषि कर्म गर्दै आइरहनुभएको छ ।

तालिममा वडा ७ ओलाङ्चुङगोलाबाहेक बाँकी छ वटा वडाका १५ जना महिला र ४० पुरुष गरी ५५ जना किसानको सहभागिता छ । गाउँपालिका प्रशासकीय केन्द्र तापेथोकमा आयोजना गरिएको तालिम बुधबार सम्पन्न हुने फक्ताङ्लुङ गाउँपालिकाले जनाएको छ । यता विदेशी कृषि विज्ञले दिएको तालिम थप प्रभावकारी हुने अपेक्षा राखिएको गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बूले बताउनुभयो ।