• ८ साउन २०८१, मङ्गलबार

कृषि क्षेत्र मुख्य प्राथमिकतामा छ

blog

जनचाहनाको चाङ र साधन स्रोतको सीमितताबिच रुकुमपश्चिम जिल्लाको मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीका खास केही विकास योजना छन्। सामाजिक संस्थामार्फत जिल्लामा लामो समय जनसेवामा सक्रिय केसी दोस्रो पटकको प्रयास २०७९ मा प्रमुखमा निर्वाचित हुनुभएको हो। जनप्रतिनिधिका रूपमा राजनीतिमार्फत जनसेवामा जोडिनुभएका प्रमुख केसीले बितेका एक वर्षको अवधिमा थुप्रै चुनौती र समस्या भोग्नुभएको छ। प्रस्तुत छ, प्रमुख केसीले सम्पादन गरेका कार्य र आगामी योजनामा केन्द्रित रही गोरखापत्रका मुसीकोट समाचारदाता राजु लामिछानेले गर्नुभएको कुराकानी– 

जनप्रतिनिधिका रूपमा पहिलो वर्ष कस्तो रह्यो ? कस्ता चुनौती झेल्नु प-यो ? 

निर्वाचित भएको सुरुको दुई महिनामै हामीले योजना तथा कार्यक्रम र बजेट ल्याउनु प-यो। निर्वाचित जनप्रतिनिधि राजनीतिक हिसाबले समीकरणका हिसाबले नमिलेका थियौँ। चुनौतीका बाबजुद छोटो समयमै लोकप्रिय योजना र बजेट ल्यायौँ। पर्यटकीयस्थल साँखदह, ठुलीदहमा विभिन्न संरचना बनायौँ। सहिद मैदानमा बहुपार्किङ भवनका लागि डिपिआर तयार गरेका छौँ। अत्यन्त चासोको रूपमा रहेको डम्पिङ साइटको दीर्घकालीन योजनाका लागि नयाँ ठाउँ पनि छनोट गरिसकेका छौँ। 

अहिले राप्ती राजमार्ग वरपर रहेका विभिन्न संरचना हटाउने प्रक्रिया सुरु गरेका छौँ। शैक्षिक जनशक्ति अभाव कम गर्ने क्रममा नगर शिक्षक भर्ना गरेका छौँ, शिक्षालाई प्रविधिसँग जोड्ने काम गरेका छौँ। बन्द अवस्थामा रहेका विद्यालय सुरु गरेका छौँ। नगर क्षेत्रमा पहिलो पटक अटोरिक्सा सञ्चालनमा ल्याएका छौँ। नगरपालिकाका विभिन्न ठाउँमा प्रसूति गृह सञ्चालन गरेका छौँ। सदरमुकामको मुख्य बजार खलङ्गामा सडक बत्ती जोडेका छौँ। जे जति गर्ने भनेका थियौँ , सुरुकै वर्षमा त्यो पूरा गर्न सकिएको छैन। सीमित स्रोत र असीमित मागका बिचमा जनप्रिय कामहरू सुरुवात गरेका छौँ। 

राप्ती राजमार्ग वरिपरि रहेका संरचना हटाउन सूचना मात्र निकाल्ने काम लामो समयदेखि हुँदै आएको हो। तपाईंको पालामा कार्यान्वयन हुन्छ भनेर कसरी विश्वास गर्ने ?  

स्थानीय तहमा जनप्रतिनिधि नआउँदै पनि म नगरपालिकाको राजनीतिक संयन्त्रमा थिएँ। विगतको अनुभव पनि छ। उतिखेर पनि सदरमुकामको बालमन्दिर, सहिद मैदानको क्षेत्रमा रहेका अवैध संरचनाहरू हटाएका हौँ । जसको अगुवाई मैले नै गरेको थिएँ। अहिले हामीले कसैलाई अप्ठ्यारो पार्नेभन्दा पनि राजमार्गको दुई/दुई मिटरभित्र बनेका संरचना हटाउने भनेका छौँ। जहाँ जग्गाधनीले मुआब्जा बुझिसक्नुभएको छ। त्यो त सरकारी भइसक्यो। राजमार्गको मापदण्ड त १५ मिटर हो। तत्काललाई हामीले दुई मिटरभित्र रहेका संरचना मात्र हटाउन भनेका छौँ। कसैलाई पनि असहज नहुने गरेर अवैध संरचना हटाएरै छोड्छौँ। 


मुसीकोट नगरका मुख्य समस्या के–के छन् ? समाधान कसरी गर्ने योजना छ ?

मुख्य समस्या त माग तथा इच्छाको चाङ बढी र स्रोतसाधनको कमी नै हो। भएका स्रोतसाधनको सदुपयोगका लागि हाम्रा संयन्त्र चुस्त दुरुस्त हुनुपर्छ। हामी अब पालिकाको काम प्रविधिसँग जोडेर गर्ने योजनामा छौँ । पालिका, वडाबाट हुने सिफारिस, राजस्वको काम सफ्टवयरबाट गर्ने छौँ। नयाँ ई–हाजिरी सञ्चालन हुँदै छ। नगरपालिकामा हुने अन्य काम प्रविधिमैत्री बनाउने योजना बनाएका छौँ। कृषि उत्पादनको व्यवस्थित बजारीकरण, स्वच्छ खानेपानी, फोहोर व्यवस्थापन, बेरोजगारीलगायतका समस्या छन्। सबैलाई योजनाबद्ध तरिकाले समाधानमा लागि परेका छौँ। नगरवासीलाई घरदैलोमै सरकारको अनूभूति दिलाउने छौँ। 


नगरको विकासका लागि सङ्घीय र प्रदेश सरकारसँग कसरी समन्वय भइरहेको छ ?

तीन तहका सरकारबिचमा समन्वयको कमी भएको महसुस हुन्छ। माथिल्ला मानिएका सरकारबाट आफ्नै ढङ्गबाट योजना बनाउने र बजेट हाल्ने काम हुन्छ। स्थानीयस्तरमा के आवश्यक हो ? हामीले के योजना मागेका छौँ ? त्यता ख्याल नगरेको देखिन्छ तर यस्तो काममा स्थानीय सरकारको जनशक्ति परिचालन गर्नुपर्छ। सङ्घ तथा प्रदेशबाट आउने अनुदानमुखी योजना कहाँबाट आयो ? कसरी आयो ? त्यो थाहै हुँदैन। सङ्घ र प्रदेशले आफूखुसी योजना र बजेट पठाउँदा स्थानीयका माग र आवश्यकता सम्बोधनमा कठिनाइ हुने गरेको छ। हाम्रो तर्फबाट बारम्बार यस विषयमा समन्वय गर्न अनुरोध भइरहेको छ। 


कृषिको उर्वर भूमिका रूपमा परिचित मुसीकोटका विभिन्न ठाउँ छन्। कृषि क्षेत्रका लागि नगरपालिकाको छुट्टै केही योजना छ कि ? 

कृषिका लागि मुसीकोट नमुना पालिका नै हो। यहाँका धेरै ठाउँमा उत्पादन हुने तरकारीको बिउ देश, विदेशमा परिचित छ। तरकारी बिउ उत्पादन, लसुन खेती, आलु खेतीमा यो क्षेत्र परिचित छ। सोलाबाङ, माछमी, चौतारालगायत ठाउँ धान, तरकारीका लागि राम्रो क्षेत्र हुन्। यी क्षेत्रमा कृषि उपज बढाउनका लागि नगरपालिकाले सेवा केन्द्रमार्फत सेवा दिएको छ। तीन वटा वडाको पायक पर्ने ठाउँमा सेवा केन्द्र स्थापना गरिएको छ। त्यहाँ कृषि, पशु सेवा प्राविधिक खटाइएको छ। किसानका समस्यालाई प्राविधिकले समाधान गर्ने गर्नुहुन्छ। कृषि तथा पशु सेवाका प्राविधिक वडामै पुगेर सेवा दिनुहुन्छ। कृषिसम्बन्धी विभिन्न तालिम, बाख्रा तथा भैँसी वितरण, घाँसका बिरुवा वितरण, बिउ वितरणलगायत काम हामीले गरेका छौँ। कृषि क्षेत्र हाम्रो मुख्य प्राथमिकतामा रहेको छ। कृषि उपजको बजारीकरण पनि हाम्रो योजनामा रहेको छ। 


अबको चार वर्षमा गर्नुपर्ने कुनै ठोस योजना बनाउनुभएको छ ?

कृषि र पर्यटन हाम्रो प्राथमिकताका विषय हुन्। पहिलो वर्ष डिपिआर भएका रङ्गशाला, बसपार्क, पर्यटकीय क्षेत्रका योजनालाई यस अवधिमा पूर्णता दिने हो। पार्किङ भवनलाई पूर्णता दिने छु। पर्यटकीयस्थल साँखदह, ठुलीदह, मुसीदरबार क्षेत्रको विषयलाई मेरो कार्यकालमा पूर्णता दिने छु। पछिल्लो समय बढ्दै गएको मानसिक समस्यालाई मध्यनजर गर्दै मनोविमर्शकर्ता राख्ने योजनामा छु। जनताले प्रत्यक्ष महसुस गर्न सक्ने कुराहरू अबको अवधिमा गरिने छ।