• २ असोज २०८२, बिहिबार

अठतिस योजनाको सम्झौता

blog

हुम्ला समाचारदाता

हुम्ला, असोज २ गते । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधारतर्फका ३८ वटा योजना एकै दिनमा सम्झौता भएको छ । सामाजिक विकास कार्यालय हुम्लाले विद्यालय व्यवस्थापन समिति र स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारीलाई योजनाको कार्यान्वयनसम्बन्धी अभिमुखीकरणमा ती सबै सम्झौता गरेको हो । 

कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेका यस आवमा निर्माण गर्नुपर्ने ३० लाखभन्दा कम बजेटका ३८ वटा योजनाको सम्झौता एकै दिनमा गरिएको सामाजिक विकास कार्यालयका प्रमुख ईश्वरबहादुर सिंहले बताउनुभयो । योजना निर्माण समितिमा पनि तिनै मानिसको सहभागिता रहने भएका कारण योजना कार्यान्वयनबारे अभिमुखीकरण कार्यक्रम पनि भएको र योजनाको सम्झौता गर्ने कार्य पनि भएको उहाँले बताउनुभयो । सम्झौताका लगि उहाँहरूलाई पुनः बोलाउनु नपरोस् भनेर नै यो उपाय अपनाइएको उहाँले बताउनुभयो । यो आवमा निर्माण गर्नुपर्ने सबै ४८ वटै योजनाको सम्झौता एकै दिनमा गर्ने लक्ष्य रहेको भए पनि प्राविधिक कारणले १० वटा योजनाका समिति आउन नसकेको र अब उहाँहरूलाई पनि चाँडै बोलाएर सम्झौता गर्ने जानकारी उहाँले दिनुभयो । 

समयमै काम सम्पन्न गर्न र असारमा कामको चाप कम गर्न कार्यालयले यसो गरेको उहाँको भनाइ छ । ती ३८ वटा योजनाको कार्यान्वयन चरणमा गइसकेका कारण समयमै निर्माण सम्पन्न हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । ती अधिकांश योजनाको विद्यालय भवन र स्वास्थ्य चौकी भवन छन् । 

त्यसमा मानसरोवर बहुमुखी क्याम्पसलाई पनि पाँच लाखको योजना परेको छ । ती योजना सम्पन्न गर्ने मिति २०८३ जेठ १५ गतेसम्म राखिएको भए पनि उहाँले ढिलोमा वैशाख महिनासम्म निर्माण सम्पन्न गर्ने उहाँले बताउनुभयो । योजना जिल्लाका सात वटै गाउँपालिकामा परेका छन् ।