• २ असोज २०८२, बिहिबार

मधेश सरकार अल्पमतमा

blog

मुख्यमन्त्री सतीशकुमार सिंह

धर्वेन्द्र झा 

जनकपुरधाम, असोज २ गते  । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जनमत पार्टीबाटै मधेश प्रदेशका मुख्यमन्त्री बन्नुभएका सतीशकुमार सिंह नेतृत्वको सरकार अल्पमतमा परेको छ । 

जनमत पार्टी संसदीय दलका नेता महेश यादवले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेश सभा सचिवालयमा मङ्गलबार दर्ता गराएपछि दर्ता गराएको ३० दिनभित्रमा मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत लिन सक्ने वा राजीनामा दिएर अर्को सरकार गठनका लागि निकास दिन सक्ने व्यवस्था रहेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिनुभयो । 

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह राजीनामा दिने पक्षमा देखिनुभएको छैन । मुख्यमन्त्री निकट स्रोतका अनुसार मुख्यमन्त्री सिंहले प्रदेश सरकारलाई आएको समस्याका विषयमा प्रदेश सभामै सामना गर्ने तयारी गरिरहनुभएको छ । आन्दोलनका व्रmममा देशभरको अवस्था भयावह भएपछि सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरी उहाँले राजीनामा घोषणा गर्नुभएको थियो तर उहाँको राजीनामापत्र प्रदेश प्रमुखको कार्यालयमा नपुगेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव यादवले जानकारी दिनुभयो । उहाँले मुख्यमन्त्रीको राजीनामा नआए पनि जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा आइसकेको र यस विषयको टुङ्गो प्रदेश प्रमुख बिहीबार काठमाडौँबाट आएपछि लाग्ने बताउनुभयो । 

जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई फिर्ता बोलाएपछि जनमत पार्टीका तर्फबाट मधेश प्रदेश सरकारमा सहभागी उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्त कुशवाहा र वन तथा वतावरणमन्त्री सञ्जयकुमार यादवले पदबाट राजीनामा दिनुभएको छ । 

मधेश प्रदेशमा जनमत, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांगे्रस र लोसपा गठबन्धनको सरकार छ । जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि अन्य पार्टीले यस विषयमा अहिले औपचारिक रूपमा कुनै प्रतिव्रिmया दिएको छैन ।