• २ असोज २०८२, बिहिबार

साँच्चिकै ब्याटम्यान

blog

हरेक दिन जस्तै आज पनि दिवाकर निर्धारित समयमा नै उठे । बिहानको नियमित कार्य सिध्याएपछि उनले मोबाइल चलाउन थाले । 

“अचेल तिमी धेरै मोबाइल चलाउन थालेका छौ । मोबाइलमा मात्र धेरै समय नबिताऊ । आफ्नो पढाइमा पनि ध्यान देऊ,” दिवाकरले निकै समयदेखि मोबाइल चलाइरहेको देखेपछि आमाले सम्झाउँदै भनिन् । “होमवर्क बाँकी छैन, हिजै सिध्याइसकेँ । अब केही समय म मोबाइलमा कार्टुन हेर्छु नि,” दिवाकरले खुसी हुँदै भने, “ममी ! त्यो ब्याटम्यान त निकै रमाइलो पो रहेछ । मलाई त्यो ब्याटम्यान त हेरिरहुँ जस्तो लाग्छ अचेल ।” “के हो त्यो ब्याटम्यान भनेको नि, ?” जिज्ञासु हुँदै आमाले सोधिन् । 

“हजुरलाई थाहा छैन, ?” दिवाकरले मोबाइलमा ब्याटम्यानलाई देखाउँदै भने, “यही हो ब्याटम्यान ! निकै राम्रो कार्टुन छ ।” 

दिवाकरको आमाले ब्याटम्यानलाई हेरिन् र हाँस्दै भनिन्, “के के न होला भनेको त हाम्रैतिर पाइने चमेरो जस्तै मान्छे पो रहेछ । चमेरोलाई मान्छे जस्तै बनाएर पो यो कार्टुन बनाइएको रहेछ ।” केही समय अडिँदै आमाले भनिन्, “यस्ता ब्याटम्यान त जङ्गलका ओडार, गुफा र रुखमा थुप्रै पाइन्छन् । कहिलेकाहीँ हाम्रो घरछेउको टोटालोको रुखमा पनि आउँछन् । तिम्ले देखेका छैनौ ?” 

“अहँ, मैले देखेको छैन त । साँच्चै, तिनीहरू आउँछन् र ममी, ?” दिवाकरका कान ठाडा भए र सोधे, “यस्ता ब्याटम्यान हाम्रै घर वरपर आउँछन् र भन्या ?” “किन नआउनु ? आउँछन् नि, !” 

आमाले भनिन् । 

“कति बेला आउँछन् तिनीहरू, ?” दिवाकर झनै उत्सुक देखिए र भने, “म घरमा नभएको बेलामा आउँछन् कि क्या हो ?” 

“सधैँभरि त होइन, कहिलेकाहीँ साँझ पख आउँछन् यिनीहरू र हाम्रै घर पर्तिरको टोटालोको रुखमा आएर झुन्डिन्छन्” आमाले भनिन्, “अहो ! कति हल्लाखल्ला गर्छन् यिनीहरूले ।”

हरेक दिन फुर्सद हुँदा ब्याटम्यान हेर्ने बानी नै परिसकेको थियो दिवाकरलाई । ब्याटम्यान हेरिरहँदा उनलाई आफूले पनि त्यही ब्याटम्यानले जस्तै चमत्कार देखाउन पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । उनी आफूलाई ब्याटम्यान जस्तै बनाउन चाहन्थे– फुर्तिला । उनले आफ्नो कोठालाई ब्याटम्यान अङ्कित टिसर्ट र अरू सामानले सजाएका थिए ।

साँझ परेपछि आफ्नो घर छेउको टोटालोको रुखमा ब्याटम्यान आउँछन् भन्ने कुरा आमाको मुखबाट सुनेपछि उनी झनै जिज्ञासु बनेका थिए । हरेक दिन साँझ परेपछि उनी कार्टुनमा देखिने ब्याटम्यानभन्दा पनि आफ्नै घर छेउको रुखमा आएर बस्ने ब्याटम्यान हेर्न उत्सुक देखिन थाले । 

हरेक दिन साँझ पर्न पर्न लाग्दा खेरी त्यो रुखमा थुप्रै चराचुरुङ्गी आएर बस्दथे । कुनै कुनै चराचुरुङ्गीले त त्यही रुखमा नै रात बिताउँथे । दिवाकरले भने हरेक साँझ ब्याटम्यानको प्रतीक्षामा त्यही रुखतिर आँखा तन्काउन थाले । आज आउला कि, भोलि आउला कि ? भनी आँखा लगाइरहे पनि धेरै दिनदेखि त्यो रुखमा चमेरा आउँदै आएनन् । 

“ममी ! तपाईंले मलाई झुक्याउनुभएको त हैन नि ! मैले कति दिनदेखि त्यो रुखमा ब्याटम्यान आउँछ कि भनी हेरिरहेको छु तर देख्दै देखिइरहेको छैन,” दिवाकरले अलि रिसाउँदै भने । 

“तिनीहरू कहाँ दिनदिनै आउँछन् त, ?” आमाले भनिन्, “हरेक दिन त्यो रुखमा आउन उनीहरूलाई पनि फुर्सद हुनु प¥यो नि ! कहाँ तिनीहरू हामी जस्ता फुर्सदिला हुन्छन् र ? खानेकुरा खोज्नका लागि कता कता उड्नु पर्छ तिनीहरूलाई । आउँला नि कुनै दिन ।” 

दिवाकरले ब्याटम्यानको प्रतीक्षा गरिरहे । उनले हरेक साँझ त्यो रुखतिर हेर्न थाले । त्यो रुखमा पक्कै पनि ब्याटम्यान आउँछ भन्ने विश्वास भएपछि उनले कार्टुनमा देख्दै आएका ब्याटम्यानलाई भन्दा पनि साँच्चिकै ब्याटम्यान हेर्नका लागि प्रतीक्षा गर्न थाले । 

एकदिन साँझपख दिवाकर मोबाइलमा गेम खेल्न व्यस्त थिए । त्यही समय आमाले ठुलो स्वरमा बोलाउँदै भनिन्, “दिवाकर, दिवाकर ! बाहिर निस्किऊ त ।”

“किन ममी, ?” दिवाकरले हत्तपत्त मोबाइल बन्द गर्दै सोधे । र, उनी घर बाहिर निस्किए । 

“ऊ त्यो रुखमा हेर त । कति धेरै चमेरा, !” आमाले खुसी हुँदै भनिन् । 

दिवाकरले रुखतिर हेरे, एउटा मात्र होइन, ९/१० वटै चमेरा त्यो रुखको हाँगामा झुन्डिइरहेका थिए । उनले ती चमेरातिर हेर्दै भने, “यिनीहरू त साँच्चिकै ब्याटम्यान पो रहेछन् । हामीले कार्टुनमा हेरेका ब्याटम्यान त नक्कली पो रहेछन् ।”

दिवाकरले केही समयसम्म रुखमा झुन्डिइरहेका ती चमेरालाई हेरिरहे र तिनीहरूलाई हेर्दै रमाइरहे । केही समयपछि अँध्यारो बढ्दै गयो र ब्याटम्यान पनि देखिन छाडे ।  

 मुना  

Author

विवश वस्ती