• २ असोज २०८२, बिहिबार

जनतालाई महसुस हुने गरी सुरक्षा व्यवस्था सुदृढ पार्न निर्देशन

blog

सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल । तस्बिर L प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा 
चन्द्रपुर (रौतहट), असोज २ गते ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सीमामा उच्च सतर्कता अपनाउँदै समग्र जिल्लाको सुरक्षा व्यवस्था सुदृढ  पार्न  निर्देशन दिनुभएको छ ।

बुधबार प्रस्तावित सीमा सुरक्षा गुल्म गौर निरीक्षण गर्नुहुँदै सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीका  बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक ढकालले  सीमाबाट हुने अवैध ओसारपसार, चोरी तस्करी, लागुऔषध ओसारपसार पूर्णरूपमा नियन्त्रण गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।  

जेनजी प्रदर्शनपछि जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था बुझ्न तथा सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाउन रौतहट आएको बताउनुहुँदै उहाँले प्रस्तावित सीमा सुरक्षा गुल्म गौरको नवनिर्मित भवनको चाँडै उद्घाटन गरिने बताउनुभयो ।

अनुगमनको क्रममा सीमा इलाकामा हुने सक्ने अवैध गतिविधिको सूक्ष्म रूपमा निगरानी गरी उच्च सुरक्षा सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।

सुरक्षा नै समाजको मेरूदण्ड भएकाले समाजको सुरक्षाका लागि अहोरात्र परिचालित हुन सशस्त्र प्रहरीलाई निर्देशनको क्रममा आ–आफ्नो पदीय दायित्व अनुसार त्रुटिरहित ढङ्गबाट कार्य सम्पादन गर्नुपर्ने र आइपर्ने चुनौतीहरूलाई जित्न एक निर्भीक, इमानदार र वफादार राष्ट्र सेवकको रूपमा खटिन उहाँले जोड दिनुभयो । परिस्थिति अनुसार आवेग र उत्तेजनालाई नियन्त्रण गरी विवेकपूर्ण तरिकाले कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो  ।