बगदाद, असोज १ गते । खेत पानीले भरिएका छन् तर धान खैरो र सुकेको छ । सडेको बाली र गाईबस्तुको दुर्गन्धले हावा गन्हाएको छ । यस वर्षको रेकर्ड मनसुनी वर्षाले भारतको अन्न भण्डार पन्जाबलाई तहसनहस पारेको छ ।
लन्डन र न्युयोर्क सहरको संयुक्त आकार बराबरको खेतीयोग्य जमिन बाढीले डुबाएको छ । भारतका कृषि मन्त्रीले ‘बाली पूर्णतया नष्ट’ भएको बताउनुभयो भने पन्जाबका मुख्यमन्त्रीले यसलाई ‘दशकौँदेखिको सबैभन्दा भीषण बाढी’ भन्नुभएको छ । अमृतसर नजिकै शेहजादा गाउँका ७० वर्षीय किसान बलकार सिंहले भन्नुभयो, “यस्तो बाढी अन्तिम पटक सन् १९८८ मा देखेका थियौँ ।” उहाँको धान खेत दलदल बनेको छ र घरका भित्तामा चिरा परेको छ ।
-जलवायु परिवर्तन र क्षति-
मनसुनमा बाढी र भूस्खलन सामान्य भएपनि विज्ञका अनुसार जलवायु परिवर्तन र कमजोर योजनाबद्ध विकासले यसको आवृत्ति र विनाश बढाएको छ । राष्ट्रिय मौसम विभागका अनुसार पन्जाबमा वर्षा औसतभन्दा दुई तिहाइले बढी भएको छ । यसले कम्तीमा ५२ जनाको ज्यान लिएको छ र चार लाखभन्दा बढीलाई प्रभावित पारेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले १८ करोड डलरको राहत प्याकेज घोषणा गर्नुभएको छ ।
-गाउँ डुबानमा-
गुरदासपुर जिल्लाको तुर गाउँ बाढीले पूर्णतया ध्वस्त पारेको छ । खेत मजदुर सुरजन लालले भन्नुभयो, “अगस्ट २६ को मध्यरातमा पानी आयो, केही मिनेटमै १० फिटसम्म पुग्यो । हामी छतमा मात्र अडिएर बस्यौँ, जनावर र सबै सामान बगायो ।” “यो वर्ष मेरो लगानी सबै डुब्यो । गहुँ रोप्न खेत तयार नहुने चिन्ता छ”, सीमावर्ती लस्सियाका किसान राकेश कुमारले भन्नुभयो, “पहिले सुकाएर हिलो सफा नगरी केही सम्भव छैन ।”
भूमिहीन मजदुर मनदीप कौर अझै सङ्कटमा पर्नुभएको छ । “जमिनदारका खेतमा काम गरेर बाँच्थ्यौँ, तर अहिले सबै खेत डुबेका छन्”, उहाँले भन्नुभयो । उहाँको घर बगाएपछि उहाँ आँगनमा तिरपालमुनि सुत्न बाध्य हुनुभएको छ । त्यहाँ सर्पको डर छ ।
-बासमतीमा असर-
पन्जाब भारतको खाद्य सुरक्षाका लागि गहुँ र चामलको प्रमुख आपूर्तिकर्ता हो । पञ्जाबले ८० करोडभन्दा बढीलाई अनुदानित अन्न दिन्छ । यस वर्षको घाटाले घरेलु आपूर्ति तत्काल प्रभावित नगरे पनि प्रिमियम बासमती चामलको निर्यातमा ठुलो असर पर्ने अनुमान छ । अर्थशास्त्री अविनाश किशोरका अनुसार बासमती चामल उत्पादन, मूल्य र निर्यातमा सिधा असर पर्छ । पहिले नै अमेरिकी भन्सार शुल्कले भारतीय बासमतीलाई कमजोर बनाइसकेको अवस्थामा बाढीले थप चुनौती थपेको छ ।
राज्य आफ्नो सिँचाइ सञ्जाल बलियो भएका कारण सङ्घीय बिमा योजनामा सहभागी नभएकाले पन्जाबका किसानका लागि पुनः उत्थान कठिन हुने देखिन्छ । किसान बलकार सिंहले भन्नुभयो, “मेरो खेत अझै घुँडासम्म पानीले ढाकिएको छ । भविष्यमा हाम्रो हालत के हुन्छ, भन्न सक्दिनँ ।” रासस/सिन्ह्वा