• २ असोज २०८२, बिहिबार

आन्दोलन नहुँदा पनि भागे कैदीबन्दी

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, असोज २ गते । रुकुमपश्चिममा जेनजी पुस्ताको प्रदर्शन शान्तिपूर्ण हुँदा पनि कारागारबाट कैदीबन्दी भागेको देखिएको छ । काठमाडौँलगायत देशका केही सहरमा भएको जेनजी समूहको मागलाई समर्थन गरेर गत भदौ २३ गते भएको घटनाको विरोधमा विभिन्न पालिकामा जेठ २४ गते प्रदर्शन मात्र भयो । प्रदर्शनमा उच्शृङ्खल गतिविधि भएनन्, तोडफोड, झडप, आगजनी पनि केही भएन तर कारागारबाट कैदीबन्दी भागेको खुलेको छ ।

मुसीकोट नगरपालिका–१ मा रहेको कारागार आसपास कुनै पनि प्रदर्शन नहुँदा पनि कैदीबन्दी भाग्नुका कारणबारे अनुन्धान भइरहेको प्रशासनले जनाएको छ । उक्त दिन कारागारमा रहेका १५८ जना कैदीबन्दीमध्ये ८८ जना भागेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार जेनजी समूहको प्रदर्शन र केही कारागारबाट कैदीबन्दी निस्केको दृश्य र खबर टेलिभिजनमा देखेपछि रुकुमका कैदी भागेका हुन् । 

आन्दोलनको दोस्रो दिन नक्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलगायतका कैदीबन्दी बाहिर निस्केपछि त्यो देखेर यहाँका कैदीबन्दी पनि भागेको उहाँको भनाइ छ । कारागार कार्यालयमा रहेका नौ वटा कोठामा कैदीबन्दी बस्ने गर्दछन् । सबै कोठामा टेलभिजनको व्यवस्था छ । आन्दोलनको दिन एउटै कोठामा २०/२५ जना जम्मा भएर सबै दृश्य हेरिरहेको र कारागारबाट ठुलो सङ्ख्यामा कैदीबन्दी निस्किएको देखेपछि उनीहरू आक्रोशित बनेर हुलदङ्गा गरेको प्रहरी निरीक्षक पुनले जनाउनुभयो । उहाँले भन्नुभयो, “कसैले कुर्सी बेन्च तोडफोड गरे, केहीले भाँडाकुँडा बजारे, स्थिति असामान्य बनाएपछि उनीहरूले मूल गेटमा समेत क्षति गरे ।” गेट फोडेपछि कैदीबन्दी भागेको उहाँको भनाइ छ । 

कारागार कार्यालयमा अधिकृत स्तरको निजामती कर्मचारीको नेतृत्वमा कारागार प्रशासन र सुरक्षाका लागि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा नेपाल प्रहरी रहने व्यवस्था रहेको छ । सबै गरेर १७ जनाको टोली कारागारमा रहेको र ठुलो सङ्ख्यामा रहेका कैदीबन्दीले तोडफोड गरेपछि भाग्न सफल भएको प्रहरीको भनाइ छ । प्रहरी निरीक्षक पुनले भागेका ८८ जनामध्ये ६१ जना नियन्त्रणमा आएको र २७ जना फरार रहेको जनाउनुभयो । फरार रहेका बलात्कार, कर्तव्य ज्यान, लागुऔषध, सवारी ज्यान, ज्यान मार्ने उद्योग र हातहतियारसम्बन्धी मुद्दाका दोषी र आरोपित कैदी हुन् । कारागार कार्यालयले भने जीर्ण अवस्थामा रहेको कारागारमा सुरक्षा जोखिम रहेको बताउँदै आएको जनाएको छ । कारागार प्रमुख केशव ओलीले २०४२ मा बनेको भवनका अधिकांश संरचना जीर्ण रहेकोले कैदीबन्दीले त्यसको फाइदा उठाएको बताउनुभयो ।