सुर्खेत समाचारदाता
सुर्खेत, असोज २ गते । जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न पछिल्लो अवस्थाबारे कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशस्थित सुरक्षा निकायसँग छलफल गर्नुभएको छ । मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा बुधबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले आन्दोलनका नाममा भएको हिंसा र तोडफोडका कारण नागरिक त्रसित रहेकोले आश्वस्त पार्ने गरी काम गर्न चारै वटै सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।
मुख्यमन्त्री कँडेलले उद्देश्य राम्रो भए पनि आन्दोलनको नाममा भएको हिंसा र तोडफोडले मुलुकले अकल्पनीय क्षति बेहोर्नु परेको र नागरिक अझै पनि भयभित अवस्थामा रहेकाले जनजीवन सामान्यीकृत हुने गरी आफ्ना गतिविधि सञ्चालन गर्न चारै वटै सुरक्षा निकायलाई सुझाव दिनुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो, “जेनजी पुस्ताको आन्दोलनका नाममा भएका हिंसात्मक कामको अनुसन्धान र कारबाहीका काम हुन्छन् नै तर त्यसपछि पनि नागरिक त्रासमा छन्, यो अवस्थाबाट माथि उठाएर आश्वस्त पार्ने काममा तपार्इंहरू लाग्नूस् ।”
मुख्यमन्त्री कँडेलले थप शान्तिसुरक्षा बिग्रन नदिन प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने सुरक्षा प्रमुखलाई आश्वस्त पार्नुभयो । उहाँले भन्नुभयो, “तपाईंहरूको तालुकदार निकाय सङ्घीय सरकार होला तर प्रदेशको शान्ति, सुव्यवस्था कायम गर्ने सन्दर्भमा तपार्इंहरूलाई आवश्यक सहजीकरण गर्न प्रदेश सरकार तयार छ ।”
उहाँले शान्तिपूर्ण प्रदर्शनबाहेक हिंसात्मक गतिविधि नियन्त्रणमा राज्यले आवश्यक पहल लिनुपर्ने भन्दै माथिल्लो तहको आदेशको अन्योलले जिल्लाका सुरक्षाकर्मीले भोगेको अवस्थाबारे आफू जानकार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नहुनुपर्ने क्षति भयो, सुर्खेतमा सीमित जनशक्तिले आफ्नो मेहनतले थप क्षति रोक्नु पनि भयो तर जसले तपाईंलाई परिचालन गर्नुपर्ने थियो उसैले लत्ता छाडेपछि तपाईंहरूको नियन्त्रणमा रहेन ।” मुख्यमन्त्री कँडेलले अन्यत्रभन्दा क्षति कम गराउन सफल भएकोमा सुरक्षाकर्मीलाई धन्यवाद पनि दिनुभयो । उहाँले यतिबेला आग्रह, पूर्वाग्रह र प्रतिशोधभन्दा संयम र धैर्यको खाँचो भएको रहेकोले सुरक्षाकर्मी संयमका साथ अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “आन्दोलनका नाममा भएका आगजनी र लुटपाटमा पूर्वाग्रह नराखेर अनुसन्धान गर्न र कानुनबमोजिम कारबाही गर्न तपाईंहरूलाई माथिको आदेश पर्खनु पर्दैन, पूर्वाग्रह नराखेर अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनूस् ।” छलफलमा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर आचार्यसहित प्रदेशस्थित चार वटै सुरक्षाका प्रमुखको उपस्थिति थियो ।