शालिग्राम नेपाल
चितवन, भदौ ४ गते । चितवनको भरतपुरमा स्तरीय र सस्तो जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ । यसबारे आममानिसलाई थाहा नहुँदा भने उनीहरू निजी प्रयोगशालामा गएर महँगो शुल्क तिरी परीक्षण गराइरहेका छन् ।
डेढ महिनाअघि भरतपुर अस्पताल नजिकै स्वास्थ्य कार्यालयको परिसरमा प्रदेश सरकारले सञ्चालनमा ल्याएको यो जनस्वास्थ्य प्रयोगशालामा कतिपय जाँच निःशुल्क गरिएको छ भने अन्य जाँच कुनै पनि निजी र सरकारी अस्पताल÷प्रयोगशालाको भन्दा सस्तो छ । यहाँ करिब डेढ सय प्रकारका जाँच गर्न सकिने सो सेवा एकाइले जनाएको छ ।
यो प्रयोगशाला प्रदेश सरकारले सञ्चालन गरेको जनस्वास्थ्य प्रयोगशाला धुलिखेलको सेवा एकाइ हो । यस प्रयोगशालाको गत असार १६ गते बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले उद्घाटन गर्नुभएको थियो । “कतिपय परीक्षण निःशुल्क गर्ने गरिएको छ भने यहाँ लिइने शुल्क अन्यत्रका सरकारी र निजी अस्पतालको भन्दा सस्तो छ,” जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीले भन्नुभयो ।
यो प्रयोगशालाले भर्खरै महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा सुरु गरेको छ । यसका लागि अन्य अस्पताल÷प्रयोगशालाले दुई हजार पाँच सय रुपियाँ लिँदै आएका छन् भने जनस्वास्थ्य प्रयोगशालाले ७५० रुपियाँमा सेवा दिँदै आएको निर्देशक कार्कीले जानकारी दिनुभयो ।
भरतपुरका निजी प्रयोगशालामा थाइराइडको परीक्षण गर्दा एक हजार दुई सय रुपियाँभन्दा बढी लिन्छन् । सरकारी अस्पतालमा पनि कम्तीमा एक हजार रुपियाँ लाग्ने गरेकोमा जनस्वास्थ्य प्रयोगशालामा पाँच सय रुपियाँमै हुने गरेको निर्देशक कार्कीले जानकारी दिनुभयो । निजी प्रयोगशाला र भरतपुर अस्पतालले डेङ्गु परीक्षणको शुल्क छ सय रुपियाँ लिँदा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले भने निःशुल्क गरिरहेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक कार्कीले भन्नुभयो, “यो सरकारी प्रयोगशाला हो । डेङ्गु परीक्षण सेवा निःशुल्क छ । कालाजारलगायतका परीक्षण पनि निःशुल्क हुने गरेको छ ।”
यो प्रयोगशालाले आममानिसले परीक्षण गराउने डेङ्गुलगायतका सबै खालका जाँच (झन्डै १५० थरी) भइरहेको जानकारी दिँदै उहाँले नमुना लिएको दुई घण्टामा नतिजा दिन सकिने गरी काम थालिएको बताउनुभयो ।
काठमाडौँको टेकुमा रहेको शुव्रmराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जस्तै सेवा चितवनको भरतपुरमा सञ्चालन भएको छ भन्ने सर्वसाधारणलाई जानकारी नहँुदा यहाँ आउनेको सङ्ख्या ज्यादै न्यून रहेको उहाँले बताउनुभयो ।
बागमती प्रदेशको मूल सेवा कार्यालय धुलिखेलमा रहेको छ भने भरतपुरमा एकाइ सेवा कार्यालयका रूपमा प्रयोगशाला स्थापना गरिएको हो । झन्डै आठ करोड रुपियाँको लागतमा मेसिन खरिद गरिएको छ । अहिले दैनिक एक सयदेखि १५० सम्म नमुना जाँच हुने गरेको छ । यो प्रयोगशालामा एकै पटक एक हजारदेखि एक हजार दुई सय नमुना जाँच हुन सक्छ ।
चितवनमा दुई वटा मेडिकल कलेज, दुई वटा ठुला अस्पताल भरतपुर र क्यान्सर अस्पताल छन् भने एक दर्जनभन्दा धेरै निजी अस्पताल छन् । पोलिक्लिनिक तथा नर्सिङ होम पनि सञ्चालनमा छन् ।