वसन्त पराजुली
नारायणगढ, वैशाख २३ गते । वन्यजन्तु, चराचुरुङ्गी र सरिसृपका लागि महत्वपूर्ण मानिएको चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको देवीताल संरक्षण अभियान सुरु गरिएको छ। गोरखापत्र दैनिकले गत चैत ६ गतेको अङ्कमा देवीतालसहित निकुञ्जभित्रका तालतलैया सुक्दै गएको समाचार प्रकाशित गरेपछि तालको सरसफाइ तथा संरक्षण कार्य अघि बढाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिनुभयो।
“ताल सुक्ने अवस्थामा पुगेको थियो। विश्व वन्यजन्तु कोषको तराई भूपरिधि कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ खर्च गरेर पहिलो चरणमा ताल संरक्षण तथा पुनर्जीवनको काम गरिएको छ,” उहाँले भन्नुभयो, “निकुञ्जभित्रका तालहरू सुक्दै गएर लोप हुने अवस्थामा पुगेपछि संरक्षण अभियान सुरु गरिएको हो।”
गत चैतको पहिलो साता निकुञ्ज अवलोकनका क्रममा अधिकांश ताल सुकेका भेटिएका थिए। देवीताल त झारले पूर्ण रूपमा पुरिएको अवस्थामा थियो। तालमा फैलिएको जलकुम्भी, करौतेलगायत झार नियमित कामदारमार्फत हटाइएको निकुञ्जले जनाएको छ। आवश्यकता अनुसार स्काभेटर प्रयोग गरेर माटोको सतह काटी पानी जम्ने अवस्था बनाइएको छ।
निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने देवीताल निकुञ्जकै ठूलो तथा महत्वपूर्ण ताल हो। करिब ४१ हेक्टर क्षेत्रफलमा फैलिएको यस तालमध्ये हाल १७ हेक्टर क्षेत्र सरसफाइ गरी पानी संरक्षण गरिएको छ।
बाघ, गैँडा, गौरीगाईजस्ता दुर्लभ वन्यजन्तु तथा घडियाल, मगरगोहीजस्ता जलचर र विभिन्न दुर्लभ चराचुरुङ्गीको प्रमुख वासस्थान रहेको देवीतालले पुनर्जीवन पाउन थालेपछि वन्यजन्तु, जलचर तथा चराचुरुङ्गीलाई ठुलो राहत पुगेको निकुञ्जले जनाएको छ।
“सात–आठ वर्षदेखि देवीतालको सरसफाइ र संरक्षण हुन नसक्दा यो घाँसेमैदानमा परिणत हुने अवस्थामा पुगेको थियो। यस वर्ष केही भए पनि संरक्षणका लागि सरसफाइ गरिएपछि तालले पुनर्जीवन पाएको छ,” संरक्षण अधिकृत प्रविन पौडेलले भन्नुभयो।
निकुञ्जभित्र पानीका स्रोत तथा तालतलैया सुक्दै जाँदा त्यसको असर चराचुरुङ्गी र वन्यजन्तुमा परेको उहाँले बताउनुभयो।
“पानीका स्रोत खुम्चिँदै जाँदा जलचर, थलचर र चराचुरुङ्गीमा ठूलो असर परेको थियो। देवीताल सुक्नुको मुख्य कारण चुरेबाट आउने पानीको स्रोत विस्तारै सुक्दै जानु हो,” उहाँले भन्नुभयो।
देवीताल चुरेको फेदीमा अवस्थित छ। यहाँ चुरेबाट आउने हात्तीमुढेँ खोलाले पानी आपूर्ति गर्ने गर्दछ। पछिल्लो समय खोलाको बहाव परिवर्तन हुँदा तालमा समस्या थपिएको निकुञ्जले जनाएको छ। त्यसैले उक्त खोलालाई जैविक विधिबाट संरक्षण गर्ने काम भइरहेको छ। खोलामा बाँस रोपेर भूक्षय नियन्त्रण गर्दै देवीताल संरक्षणको दीर्घकालीन पहल थालिएको जनाइएको छ।
निकुञ्जले देवीताललाई पुरानै अवस्थामा फर्काउन थप लगानी गर्ने योजना पनि अघि सारेको छ। प्रमुख संरक्षण अधिकृत डा. पन्तले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र बाघ संरक्षण परियोजनासँग समन्वय गरेर आगामी आर्थिक वर्षमा थप सुधार गरिने जानकारी दिनुभयो।
“निकुञ्जभित्रका प्राकृतिक ताल तथा सिमसार सुक्न थाल्नु चिन्ताको विषय हो। देवीताल संरक्षण गर्न मात्रै थप दुई करोड रुपैयाँ आवश्यक पर्छ, त्यसका लागि बजेट स्रोत सुनिश्चित गरिएको छ,” उहाँले भन्नुभयो।
देवीतालसँगै लामी, तमोर, नन्दभाउजु, मुन्ना र छत्रेजस्ता ताल पनि साँघुरिँदै र सुक्दै जाने अवस्थामा पुगेका छन्। निकुञ्ज स्थापना हुँदाका बेला रहेका ५० भन्दा बढी ठूला तालमध्ये अहिले आधाभन्दा कम मात्र बाँकी रहेको तथ्याङ्क निकुञ्जसँग छ। बाँकी तालहरू पनि क्रमशः खुम्चिँदै र सुक्दै गएका छन्।
संरक्षणकर्मीहरूले निकुञ्जका ताल तथा सिमसार क्षेत्र संरक्षणका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन्। विश्व वन्यजन्तु कोषका माधव खड्काले वन्यजन्तु संरक्षणका लागि पानीको संरक्षण पहिलो आवश्यकता भएको बताउनुभयो।
“वन्यजन्तुको संरक्षण गर्न पहिला पानीकै संरक्षण आवश्यक छ। अब देवीतालसँगै अन्य तालहरूको संरक्षण अभियान पनि अघि बढाउनुपर्छ,” उहाँले भन्नुभयो।