सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, भदौ ४ गते । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५, सिरिसे पहिरोपीडितका लागि बाह्रबिसे नगरपालिकाले टेन्ट हालेर बसोबासको व्यवस्था गरेको छ । सो स्थानमा पहिरो प्रभावित १० परिवारलाई बसोबासको व्यवस्था गरिएको नगर प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । टेन्टमा खाद्यान्न, पानी, शौचालयलगायतको व्यवस्था गरिएको छ ।
बुधबार राति सुक्खा पहिरो खसेर बाह्रबिसे नगरपालिका–५, सिरिसेका १० परिवार प्रभावित भएकामा तीमध्ये स्थानीय दिपेश भण्डारीको घर पहिरोले पुरिएको थियो । पहिरोले मानवीय क्षति भएको छैन । सडक र बस्तीमाथि पाँच सय मिटर उचाइको भिर खसेर सडक पुरिएको थियो भने पहिरोले भोटेकोशी नदी १५ मिनेटभन्दा बढी समय थुनिएको थियो ।
पहिरोले बाह्रबिसे–कोदारी राजमार्ग १७ घण्टाभन्दा बढी समय अवरुद्ध बनेको थियो । बाह्रबिसे नगरपालिका र सडक डिभिजनको सहयोगमा अवरुद्ध सडक सुचारु गरिएको थियो तर सामान्य वर्षामा पनि पहिरो बगेर सडक अवरुद्ध हँुदै आएको छ । भारी वर्षाका कारण बाह्रबिसे, तातोपानी, कोदारी, लिपिङ सडक ठाउँ ठाउँमा क्षति पुगेको छ ।