काठमाडौँ, साउन ३२ गते । हावापानी तथा जलवायु विश्लेषणका लागि नयाँ मापदण्ड जारी भएको छ। विश्व मौसम विज्ञान सङ्गठन र वातावरणीय सूचनाका लागि अमेरिकी राष्ट्रिय केन्द्रले संयुक्त रूपमा अद्यावधिक गरेर विश्वव्यापी प्रयोगका लागि बुधबार नयाँ मापदण्ड जारी गरेको हो।
दुई वर्षको अध्ययनपछि जलवायु विश्लेषणको नयाँ मापदण्ड जारी गरिएको विश्व मौसम विज्ञान सङ्गठनले जनाएको छ। यस मापदण्डले यसअघिको सन् १९८१–२०१० को मापदण्डलाई विस्थापित गरेको छ। यसलाई ‘डब्लुएमओ क्लाइमेटोलोजिकल स्ट्यान्डर्ड नम्र्स १९९१–२०२०’ नाम दिइएको छ। यस मापदण्डले उपलब्ध दिन, हप्ता, महिना वा वर्ष औसतभन्दा न्यानो वा चिसो छ वा छैन भनेर मूल्याङ्कन गर्न ३० वर्ष लामो आधाररेखा उपलब्ध गराउँछ। जसलाई जलवायु मानक भनिन्छ।
नयाँ मापदण्डले उपलब्ध गराएका तथ्य ३० वर्षको अवधिमा जलवायुसम्बन्धी तथ्याङ्कको औसतका रूपमा लिइने छ। सङ्गठनका अनुसार यो मापदण्ड बनाउन विश्वका १४० भन्दा बढी देश, हजारौँ भूगोल तथा स्थानबाट तथ्याङ्क सङ्कलन गरी औसत तथ्य अद्यावधिक गरिएको हो। नयाँ मापदण्डले जलवायु परिवर्तनको अनुगमन र जलवायु संवेदनशील क्षेत्रको अध्ययन तथा विश्लेषण गर्न सघाउने विश्वास लिइएको छ। हरेक १० वर्षमा यी मापदण्ड अद्यावधिक गरिनुपर्ने हुन्छ।
सङ्गठनका जलवायु अनुगमन प्रमुख डा. ओमर बद्दुरका अनुसार हरितगृह ग्यासको बढ्दो वायुमण्डलीय आद्रताले पृथ्वीको मौसम पहिलेको तुलनामा धेरै छिटो परिवर्तन भइरहेको छ। परिणामस्वरूप मौसम विज्ञानसम्बन्धी निकाय, जलवायु–संवेदनशील क्षेत्रका साथै पानी व्यवस्थापन, ऊर्जा, स्वास्थ्य, कृषि र पशुपालन उद्योगमा त्यसको असर पर्छ। त्यसको अनुकूलनका लागि नयाँ आधार मापदण्डको प्रयोग गरेर मौसमको पूर्वानुमान गर्ने, बाली छनोट र रोपणको समय तय गर्नेलगायतका नीति तथा योजना बनाउन सकिन्छ।
यसको चलनचल्तीका लागि आफ्नो सदस्य मुलुकलाई जानकारी दिँदै आवश्यक सहयोग उपलब्ध गराउने सङ्गठनले उल्लेख गरेको छ। यो मानक पहिलेको भन्दा गुणस्तरीय रहनुका साथै व्यवस्थित गरिएकाले पनि मौसम र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय समुदाय र सङ्गठनका सदस्यको आवश्यकता पूरा गर्न सक्षम रहेको वातावरणीय सूचनाका लागि अमेरिकी राष्ट्रिय केन्द्रका मौसमविद् जे लरिमोरले बताउनुभयो।
तथापि मौसमको ऐतिहासिक तुलनात्मक अध्ययन गर्न र जलवायु परिवर्तन अनुगमन गर्दै साझा एवं सापेक्ष विश्वव्यापी जलवायु विसङ्गतिको गणना तथा अद्यावधिक गर्न सन् १९६१–१९९० को अवधिको मानकलाई निरन्तरता दिन सङ्गठनले सिफारिस गरेको छ।
सङ्गठन आफैँले पनि आफ्नो वार्षिक जलवायु प्रतिवेदनमा विश्वव्यापी तापमान वृद्धिको प्रवृत्ति पत्ता लगाउन पूर्वऔद्योगिक युग समेटिएको सन् १८५०–१९०० को मानक प्रयोग गर्दै आएको जनाएको छ। जुन सङ्गठन बन्नुभन्दा अघिको मौसम अध्ययन गर्ने अन्तर्राष्ट्रिय मौसम सङ्गठनले तयार पारेको थियो।
सङ्गठनका मौसम वैज्ञानिक पियर हेचलरका अनुसार यसरी अद्यावधिक गरिने मानकले नयाँ मौसम केन्द्रलाई समावेश गरेर काम गर्न सहज बनाउँछ तर नेपाल जस्ता विकासोन्मुख र कम विकसित मुलुकका लागि क्षमताका हिसाबले सङ्कलन र प्रशोधन कार्य चुनौतीपूर्ण हुने हेचलरले टिप्पणी गर्नुभएको छ।