शालिग्राम नेपाल
चितवन, साउन ३० गते । पश्चिम चितवनको मेघौली न्युरेनीमा नारायणी नदीले कटान गरेपछि अस्थायी सुरक्षा व्यवस्था मिलाइएको छ । भरतपुर महानगरपालिका–२७ र २८ को सिमानामा रहेको न्युरेनीमा नारायणी नदीले ड्याम कटान गरेर बस्ती प्रवेश गर्न थालेपछि अस्थायी सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । “शनिबार र आइतबारको वर्षा र बाढीले ड्याममा क्षति बनाएको रहेछ । त्यसलाई अस्थायी सुरक्षा व्यवस्था मिलाएका छौँ,” उहाँले भन्नुभयो ।
सेना, प्रहरी र अन्य प्राविधिक व्यक्तिको सहयोगमा कटान क्षेत्रमा तारजाली लगाएर खोला बस्ती पस्नबाट जोगाउने काम भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
नारायणी नदीले भरतपुर–२७ र २८ को सिमानामा पर्ने न्युरेनीमा नारायणी नदी पस्ने जोखिम पाँच वर्षअघिदेखि बढेको हो । २०७४ साउन र २०७५ भदौमा पनि तटबन्ध भत्केको थियो । गत वर्ष र यस पटक पनि उस्तै पीडा दोहोरिएको छ । नारायणीको बाढी पसे भरतपुर–२८ का सिसाबास, पन्जना, योगीटोल, नयाँगाउँ, लौखुरी, तामाङगाउँ, गोलाघाटसम्म असर पर्छ । “पाँच सय घरधुरीलाई बाढीले प्रत्यक्ष प्रभाव पार्न सक्छ,” भरतपुर–२८ का वडाध्यक्ष डण्डपाणि रिजालले बताउनुभयो ।
यो स्थानमा कटान हुने जोखिम भएपछि ड्याम निर्माण गरिएको थियो । यस वर्षको बाढीले त्यो ड्याम कटान गरेको नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी शङ्कर बुढाथोकीले जानकारी दिनुभयो । “नदीले १० मिटर क्षेत्र कटान गरेर पानी बस्ती पस्न थालेको थियो ।
स्थानीयले खबर गरेपछि हामीले आपत्कालीन रूपमा अस्थायी बाँध बाँधेर अहिले सुरक्षित पारेका छौँ,” सूचना अधिकारी बुढाथोकीले भन्नुभयो । नारायणी नदी व्यवस्थापन आयोजना कार्यालयले दुई अर्ब रुपियाँभन्दा धेरैको लगानीमा पाँच वटा ठेक्कामार्फत नयाँ तटबन्ध निर्माण गरिराखेको छ तर यो जोखिम रहेको स्थानमा नयाँ तटबन्धको ठेक्का परेको छैन ।