• ३१ वैशाख २०८२, बुधबार

दुधौली नगरपालिका घरबाट खरको छानो हटाइँदै

blog

सिन्धुलीको दुधौली नगरपालिकामा यो वर्ष खरको छानो हटाएर जस्तापाताले छाएको घर । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा
सिन्धुलीमाढी, साउन २९ गते । 
दुधौली नगरपालिका–१३ अरुणठाकुर निवासी पुनाकुमारी मगरको  घरको छानोमा यतिखेर रङ्गिन रातो जस्तापाता टल्किएको छ ।

वर्षौँदेखि खर(फुस) ले छाएको घरमा बस्दै आउनुभएका मगरलाई दुधौली नगरपालिकाले यो वर्ष खरको छानो हटाउन आवश्यक जस्तापाता निःशुल्क उपलब्ध गराएसँगै उहाँको घरमा रातो जस्तापाता टल्किएको हो ।

उहाँले भन्नुभयो, ‘‘छानोबाट खर हटाएर जस्तापाताले छाउन आर्थिक अवस्था कमजोर भएका कारण सकी रहेको थिइन । नगरपालिकाले जस्तापाता निःशुल्क दिएर ठुलो सहयोग गर्‍यो ।’’

घरमा जस्तापाता लगाएसँगै आगलागी र हुरिबतासको जोखिम घटेको उहाँले सुनाउनुभयो । नगरपालिकाले जस्तापाता उपलब्ध गराएपछि बाँकी खर्च आफैँले व्यहोरेर घरको छानो जस्तापाताले छाएको उहाँको भनाइ छ । सोही ठाउँ निवासी नरबहादुर खड्काले पनि यो वर्ष खर हटाएर घरको छानो रातो जस्तापाता लगाउनु भएको छ । वडा कार्यालयको सिफारिसमा आफूले घर छाउने जस्तापाता नगरपालिकाबाट निःशुल्क पाएको उहाँले बताउनुभयो ।

त्यसो त उक्त वडामा मात्रै यो वर्ष ६५ घर परिवारले घरको छानोबाट खर हटाएर जस्तापाता लगाएका छन् । दुधौली नगरपालिकाको नगर क्षेत्रभित्रका घरबाट खरको छानो हटाउने अभियानअन्तर्गत ती घर परिवारले आफ्नो घर जस्तापाताले छाएको नगरपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष दिपक खड्काले जानकारी दिनुभयो । प्राविधिकले नापजाँच गरी आवश्यक जस्तापाताका लागि सिफारिस गरेपछि ती घर परिवारले निःशुल्क जस्तापाता पाएको उहाँको भनाइ छ ।

त्यसो दुधौली नगरपालिकाले पनि गत आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रममा नगर क्षेत्रका घरबाट तीन वर्षभित्रमा खरको छानो हटाउने कार्यक्रम समावेश गरेको छ । सोही बमोजिम निःशुल्क जस्तापाता वितरण गरी घरबाट खरको छाना हटाइएको हो । आगलागी घटनालाई न्यूनीकरण गर्न र गरिब परिवारलाई सहयोग गर्न घरको छाना हटाएर निःशुल्क जस्तापाताले छाउने व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ ।

दुधौली नगरपालिकाबाट घरको खरको छाना हटाउने अभियान गत आर्थिक वर्ष ०७९/०८० बाट सुरु गरिएको र २३० घर धुरीमा रङ्गित जस्तापाता लगाई खरको छानो हटाएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘तीन वर्षभित्र नगर क्षेत्रका सबै घरबाट खरको छानो हटाउने योजना छ । गत आर्थिक वर्षमा १४ वटै वडामा कम्तीमा पनि १५ वटा घरका दरले घरको छानो हटायौँ ।’’

नगरपालिकाको बजेट बाहेक वडा नं. १३ मा प्रदेश सरकारको बजेटबाट सहरी विकास तथा भवन डिभिजन कार्यालयले थप ४९ घरमा खरको छानो हटाउन काम सुरु गरेको उहाँले बताउनुभयो । प्रवक्ता खड्काका अनुसार प्रदेश सरकारले खरको छानो हटाउन एक घरलाई ६० हजार रुपियाँ अनुदान उपलब्ध गराउने भएको छ । उक्त बजेट मध्ये जस्तापाता किन्न पहिलो किस्ता स्वरूप ३० हजार रुपियाँ उपलब्ध गराएको र बाँकी रकम काम सम्पन्न गरेपछि उपलब्ध गराउने भएको छ ।

नगरपालिकाका भवन शाखाका इन्जिनियर शिव शर्माले गत आर्थिक वर्षमा नगरपालिकाले ९० हजार रुपियाँको रङ्गिन जस्तापाता खरिद गरी खरको छानो हटाउन निःशुल्क वितरण गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नगरपालिकाको पहाडी क्षेत्रका वडा नं. १२, १३ र १४ मा खरको छानो हटाउने घर बढी छ । नगर क्षेत्रमा अझै करिब छ सय खरले छाएको घर बाँकी छ ।’’

उहाँले थप्दै भन्नुभयो, ‘‘खरको छाना हटाउने घरको विवरण सबै वडाबाट आइसकेको छ । घरको आकार हेरेर उनीहरूलाई पुग्ने जस्तापाता दिँदै आएका छौँ ।’’

उहाँका अनुसार जस्तापाता र ठोक्न लाग्ने किलाकब्जा नगरपालिकाले निःशुल्क उपलब्ध गराउने छ । जस्तापाता ठोक्न चाहिने काठ र खर्च घरधनी स्वयंले व्यहोर्नुपर्ने छ ।