• २३ चैत २०८२, सोमबार

बुढानीलकण्ठ मन्दिर विश्वसम्पदा सूचीमा पार्न पहल

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस १३ गते । बुढानीलकण्ठ नगरपालिका–३ स्थित ऐतिहासिक तथा पुरातात्त्विक बुढानीलकण्ठ मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शिक्षा, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिएको हो । 

युनेस्को सूचीमा सूचीकरण गर्न मन्दिरको वास्तुकला, मूर्तिको प्रस्तरकला उत्कृष्ट र विशिष्टीकृत हुनुपर्ने भएकाले त्यसका लागि नगरपालिकाले सम्बन्धित विज्ञसँग पराशर्म गर्दै प्रमाण जुटाउने प्रयास गरिरहेको छ । बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न नगरपालिकाले निरन्तर प्रयास गरिरहेको बताउनुभयो । 

अधिकरीले भन्नुभयो, “काठमाडौँ उपत्यकामा पशुपतिनाथ मन्दिरपछिको ऐतिहासिक र पुरातात्त्विक शैलीको मन्दिर नै बुढानीलकण्ठ मन्दिर हो, मन्दिरको सांस्कृतिक ऐतिहासिक गरिमालाई विश्वसामु चिनाउनका लागि बुढानीलकण्ठ मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न नगरपालिका निरन्तर लागिरहेको छ ।” उहाँका अनुसार नगरपालिकाले नारायणस्थानको इतिहास, किंवदन्ती एवं कलासम्पदालाई विशिष्ट ढङ्गबाट अन्वेषण गरी अभिलेख तयार गर्न पनि आरम्भ गरेको छ । मूर्ति, वरिपरिका पाटीपौवा, मन्दिर, धारा, शिलालेख र आसपासका बस्ती, गुम्बा, आश्रमको समग्र गहन अध्ययन भइरहेको छ । 

अधिकारीका अनुसार बुढानीलकण्ठ मन्दिरको धार्मिक तथा पुरातात्त्विक महत्त्वलाई जीवित राखिएको, मन्दिर क्षेत्रको संरचना पुनर्निर्माण र नवनिर्माण गर्दा पुरातात्त्विक महत्त्व कायम गरिएको र पुरातत्त्व विभाग र गुठी संस्थानसँग निरन्तर छलफल भइरहेको छ । मन्दिर क्षेत्रमा पहिचान मेटिने गरी जथाभाबी घर, भवन, पसल आदि संरचना बन्न रोक लगाइएको छ । मन्दिर क्षेत्रको विकासका लागि गुरुयोजना बनाउन र सरोकारवाला निकायका रूपमा आधिकारिक क्षेत्र विकास र सांस्कृतिक प्राज्ञिक प्रतिष्ठान बनाउनुपर्ने आवश्यकता रहेको अधिकारी बताउनुभयो ।