• १ जेठ २०८२, बुधबार

मधुगङ्गा महादेव धार्मिक पर्यटकीय गन्तव्य बन्दै

blog

बाबुराम देवकोटा 

हत्पते (सिन्धुली), साउन २९ गते । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–२, हत्पते लङ्गुर खोलाको मधुगङ्गा महादेव मन्दिर पछिल्लो समयमा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । 

प्रत्येक वर्ष साउनभरि मेला लाग्ने उक्त मन्दिरमा यो वर्ष पनि छिमेकी जिल्लासहित भारतका विभिन्न स्थानबाट पहेँलो, गेरु रङको वस्त्र लगाई हजारौँ श्रद्धालु भक्तजन आएका छन् । छिमेकी जिल्ला सर्लाही, महोत्तरी, सिराहा, रौतहट, बारा, पर्साका अतिरिक्त भारतका सीतामढी, मधुवनीलगायत सहरका भक्तजनका लागि यो मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बन्दै आएको छ ।

यस मन्दिरमा साउन महिनाभरि बोलबम मेला लाग्ने भए पनि सोमबारका दिन भक्तजनको उपस्थिति धेरै हुने गरेको छ । निराहार बसी शुद्ध मनले महादेवको दर्शन गरेमा मनले चिताएको पूरा हुने विश्वासले भक्तजन आउने गरेका हुन् ।

मन्दिरका पुजारी लोकबहादुर थापाले यो वर्ष साउन लागेकै दिनदेखि पहेँलो गेरु रङको वस्त्र लगाई आएका श्रद्धालु भक्तजनको उपस्थितिमा मेला लाग्न सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सन्तान, धन, शिक्षा प्राप्ति र कुनै पनि रोगबाट मुक्त हुन भक्तजन महादेवको दर्शनका लागि आउने गरेका छन् । महादेवप्रतिको विश्वासले नै भक्तजनको भिड लाग्ने गरेको हो ।” 

भक्तजनकै सहयोगबाट हालसम्म मन्दिर परिसरमा सात वटा धर्मशाला निर्माण भइसकेको छ । स्थानीयका अनुसार जङ्गलको कुनामा रहेको महादेव मन्दिरमा जान गत वर्ष कमला नदीमा पक्की पुल निर्माण सम्पन्न भएसँगै सजिलो भएको छ ।

भक्तजनबाट बर्सेनि सातदेखि १० लाख रुपियाँसम्म भेटी मन्दिरमा जम्मा हुने गरेको छ । उक्त भेटीबाट मन्दिर परिसरमा धर्मशाला निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

पक्की पुल निर्माण हुनुअघि तराईबाट आउने भक्तजनले कमलामाई नगरपालिका–१४, चन्दनपुरमा पुगेपछि कमला नदी पार गर्नुपर्ने बाध्यता थियो, जसका कारण बर्सेनि दुई-चार जना भक्तजनको कमला नदीले बगाएर ज्यान जाने गरेको स्थानीयले बताएका छन् ।  

यस वर्ष मेलाको व्यवस्थापन दुधौली नगरपालिका आफैँले मिलाएको छ । सडकको ठाउँ ठाउँमा स्वास्थ्य शिविर, सुरक्षाकर्मी परिचालन, स्टललाई व्यवस्थित गर्ने, स्वयम्सेवक परिचालन, सौर्य बत्ती जडान, पार्किङको व्यवस्थालगायतको तयारी गरिएको दुधौली नगरपालिका–२ का वडाध्यक्ष रितेश राउतले जानकारी दिनुभयो ।

मधुगङ्गा महादेव मन्दिरलाई प्रमुख धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नगरपालिकाले बृहत् गुरुयोजना नै बनाई त्यसै अनुसार काम गर्न सुरु गरेको उहाँको भनाइ छ । भक्तजन हिँड्ने बाटोको दायाँबायाँ राखिएका नाङ्ले किराना पसल मेलाका कारण निकै फस्टाएका स्थानीय बासिन्दा रेखराज दाहालले जानकारी दिनुभयो ।