मकवानपुर समाचारदाता
हेटौँडा, साउन २९ गते । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेश सभाको बैठक तत्काल बोलाउन माग गरेको छ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले आइतबार संसदीय दलको कार्यालय, हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकार नागरिकका समस्याप्रति बेखबर रहेको आरोप लगाउनुभयो ।
उहाँले मन्त्रीहरू नभेटिने गरेको र मन्त्रीहरू मन्त्रालयमा नबस्ने गरेको, बाढीपहिरो, महँगीलगायतका समस्यामा प्रदेश सरकार उदासीन बनेको बताउनुभयो । तत्काल प्रदेश सभा बैठक बोलाउन माग गर्दै उहाँले भन्नुभयो, “नागरिक महँगी, विपत्लगायतका समस्याबाट गुज्रिरहेको समयमा नागरिकका आवाज उठाउनुपर्ने ठाउँ प्रदेश सभा बन्द छ, तत्काल बैठक बोलाउन एमाले संसदीय दल माग गर्दछ ।”
प्रदेश सभा सञ्चालन भएको सात महिना भइसक्दा पनि कुनै पनि संसदीय समितिको पहिलो बैठक नै बस्न नसकेकोमा उहाँले आपत्ति प्रकट गर्नुभयो । “संसदीय समितिलाई सव्रिmय बनाएर सरकारका कामकारबाहीको निगरानी बढाउनुपर्नेमा यसतर्फ चासो नदेखाएर लापरबाही र नागरिकको अपमान भएको एमाले संसदीय दलका ठहर छ,” उहाँले भन्नुभयो ।
एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसूदन पौडेलले आम्दानीको स्रोत घटेको समयमा आर्थिक व्ययभार बढ्ने गरी मन्त्रालयको सङ्ख्या र मन्त्री बढाइएकोप्रति आपत्ति जनाउँदै भारतबाट चामल निकासी रोक लगाएको चर्चा चलेपछि नेपालमा प्रतिक्विन्टल चार सय रुपियाँसम्म भाउ बढाइएको र सरकारले अनुगमन नगरेको बताउनुभयो ।