• १३ साउन २०८१, आइतबार

यस वर्ष दस प्रतिशत कम धान रोपाइँ

blog

काठमाडौँ, साउन २९ गते । साउन सकिन लाग्दासम्म ८४ प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्ष यति बेलासम्म ९४ प्रतिशत रोपाइँ भइसकेको थियो । अर्थात् गत वर्षको तुलनामा हालसम्म १० प्रतिशत कम रोपाइँ भएको छ । 

कृषि विभागका अनुसार १४ लाख ८८ हजार हेक्टरमा धान खेती हुन्छन् । त्यसमध्ये साउन २६ सम्म १२ लाख ५४ हजार हेक्टरमा रोपाइँ भएको छ । सात वटै प्रदेशमध्ये सबभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको छ । अन्न भण्डारका रूपमा चिनिएको मधेश प्रदेशमा ६० प्रतिशत रोपाइँ मात्र भएको छ ।

मधेशमा गत वर्ष यति बेला ९३ प्रतिशत रोपाइँ भइसकेको थियो । अर्थात् गत वर्षको तुलनामा मधेशमा ३३ प्रतिशत कम रोपाइँ भएको कृषि विभागले जनाएको छ । मधेश प्रदेशमा चार लाख एक हजार ६५० हेक्टरमा धान खेती हुन्छ । त्यसमध्ये हालसम्म दुई लाख ४२ हजार ५०७ हेक्टरमा मात्र रोपाइँ भएको विभागले जनाएको छ । 

मधेशमा मनसुन ढिलो भएका कारण धान रोपाइँमा कमी आएको विभागले जनाएको छ । कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले भन्नुभयो, “देशभर मनसुन सक्रिय हुँदा पनि मधेशमा अलि ढिलो सुरु भयो, त्यहाँ पानी धेरै कम प¥यो, त्यसले रोपाइँमा कमी आएको हो । अहिले पनि पर्याप्त पानी नपरेका कारण रोपाइँ प्रभावित भएको हो ।”

यो महिनाभर धान रोपाइँ हुन्छ, अन्तिमसम्म रोपाइँको क्षेत्रफल बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । हालसम्म सबभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । 

सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत रोपाइँ भइसकेको छ । यो प्रदेशमा एक लाख ७७ हजार हेक्टरमा रोपाइँ हुन्छ, त्यसमध्ये एक लाख ७६ हजार हेक्टरमा रोपाइँ भएको छ । त्यहाँ लगभग रोपाइँ सम्पन्न नै भएको विभागले जनाएको छ । कर्णाली प्रदेशमा ९८ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यति बेला ९९ प्रतिशत रोपाइँ भएको थियो । कर्णालीमा ४५ हजार ३८७ हेक्टरमध्ये ४४ हजार ५०५ हेक्टरमा रोपाइँ भएको छ । 

लुम्बिनी प्रदेशमा ९३ प्रतिशत रोपाइँ भएको छ । गत वर्षभन्दा बढी रोपाइँ भएको विभागले जनाएको छ । तीन लाख ११ हजार हेक्टरमध्ये दुई लाख ८८ हजार हेक्टरमा रोपाइँ भएको छ । गण्डकी प्रदेशमा ९३ प्रतिशत रोपाइँ भएको छ । यो प्रदेशमा ९७ हजार ८५१ हेक्टरमध्ये ९० हजार ९३६ हेक्टरमा रोपाइँ सकिएको छ । 

बागमती प्रदेशमा ८० प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष यति बेलासम्म ९७ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा एक लाख १३ हजार ५२३ हेक्टरमध्ये ९० हजार ९४६ हेक्टरमा रोपाइँ भएको छ । कोशी प्रदेशमा ९४ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यो बेलासम्म ९४ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा तीन लाख ४० हजार ८२९ हेक्टरमध्ये तीन लाख २० हजार २०७ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।