राममणि दाहाल
हेटौँडा, साउन २६ गते । अवैध गाँजा र अफिम खेतीको विकल्पमा मकवानपुरको राक्सिराङ गाउँपालिकामा कफी खेती गरिने भएको छ । मकवानपुर जिल्लाको उत्तरी भेगमा हुने अवैध गाँजा तथा अफिम खेतीलाई विस्थापित गर्न तीन लाख कफीका बिरुवा लगाइने भएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वय तथा सहकार्यमा समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप अवैध गाँजा र अफिम खेतीको विकल्पमा कफी खेती गर्न मास्के मल्टीपर्पोज एग्रिकल्चर एण्ड रिसर्च प्रा.लि. गाउँपालिकालाई निःशुल्क रुपमा कफीका बिरुवा उपलब्ध गराउने सहमति भएको छ ।
कफी खेतीमार्फत किसानको आयआर्जन एवम् जीवनस्तर उकास्ने उद्देश्यले चालु आर्थिक वर्ष २०८०/०८१ म तीन लाख वटा कफीका तयारी बिरुवा निःशुल्क रुपमा उपलब्ध गराउने गरी इलाका प्रहरी कार्यालय मनहरीमा भएको कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र मास्के मल्टीपर्पोज एग्रिकल्चर एन्ड रिसर्च प्रा.लि.का कार्यकारी निर्देशक धनबहादुर श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षरभएको हो ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणा, प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्थम थिङ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाललगायतको उपस्थिति थियो ।