• १३ साउन २०८१, आइतबार

गहुँ भित्र्याउन व्यस्त किसान

blog

खार्दुको लेख सेरको गडामा गहुँ काट्दै किसान तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, साउन २६ गते ।
कालीकोटको भारपाटामा यती बेला गहुँ पाकेर पहेँलै भएको छन् । पचालझरना गाउँपालिका–३ खार्दुको भारपाटा र गरपाटा क्षेत्रमा किसान गहुँ काट्न र भित्र्याउन व्यस्त छन् । औल अर्थात् बेसी तिरको रोपाइँ सकेर किसान लेखमा लगाएको गहुँ भित्र्याउन लागेका हुन् ।

भदौको अन्तिममा छरेको गहुँ एक वर्षमा पाक्ने गर्छ । समुद्री सतहदेखि तीन हजार उचाइमा रहेको भारपाटा र गरपाटामा किसानले गहुँ लगाउन थालेको धेरै वर्ष भइसकेको छ । जनता माध्यमिक व्द्यिालयका शिक्षक तुलाराज कठायतले परम्परागत रुपमै खेती गर्दै आएको बताउनुभयो । उहाँले उच्च ठाउँ भएकाले एक बाली मात्र लगाउने गरिएको जानकारी दिनुभयो ।

गहुँ लगाएको जमिन तीन महिना खाली छोडेर मङ्सिरमा आलु लगाउने गरिन्छ । अहिले आलु लगाएको खेतमा असोजमा गहुँ छर्ने गरेको शिक्षक कठायतले सुनाउनुभयो । खार्दुमा १२ महिनामा एक पटक वाली पाक्ने क्षेत्र हो । अहिले आलुखेती गरिएको खेतमा असोजको पहिलो हप्तासम्म गहुँ खेती गरिन्छ भने गहुँ भित्र्याएको खेतमा मङ्सिरमा आलुखेती गरिन्छ भने अहिले आलु लगाएको क्षेत्रमा  भदौको अन्तिमदेखि असोजको पहिलो हप्तासम्म गहुँ छर्ने गरिन्छ ।

स्थानीय प्रकाश कठायतले लेखतिर वर्षातको समयमा भेडाबाख्रा, गाईभैंसी राख्ने भएकाले मल जम्मा पार्ने र त्यही मल वालीमा हाल्ने भएकाले उत्पादन पनि राम्रो हुने गरेको सुनाउनुभयो । उहाँले जमिन धेरै भएकाले एक जना किसानको कम्तीमा पनि तीन हजार वर्ग मिटरभन्दा बढी भएकाले आधामा गहुँ लगाउने र आधामा आलु लगाउने चलन रहेको सुनाउनुभयो । स्थानीय किसान पूर्णबहादुर कठायतले तीन सय हाराहारीको घरधुरी रहेको आफ्नो गाउँका सबैको जमिन कम्तीमा पनि नौ लाख वर्गमिटर रहेको सुनाउनुभयो ।

धेरै वर्ष पहिला जङ्गली जनावरले गहुँ आलुमा क्षती पुगाउने गरेका थिए । अहिले जङ्गली जनावर छैनन् । मानिसको धेरै चहलपहल हुने भएकाले जनावर टाढा भाग्ने भएकाले लगाएको खेती सुरक्षित हुने स्थानीयको भनाइ छ ।