ढल्केबर समाचारदाता
ढल्केबर, साउन २६ गते । मिथिला नगरपालिका–८, ढल्केबरमा रहेको मिथिला सौर्य विद्युत् आयोजनामा तालाबन्दी गरिएको छ । आयोजनालाई जग्गा भाडा दिएका जग्गाधनीहरूले भुक्तानी माग गर्दै तालाबन्दी गरेका हुन् ।
आयोजनाले प्रतिकट्ठा छ हजार पाँच रुपियाँका दरले ८२ जना किसानसँग ५६ बिघा जमिन भाडामा लिएको थियो । जग्गाधनीहरूले आयोजनामा तालाबन्दी गरेपछि विद्युत् उत्पादनसमेत बन्द भएको छ ।
उक्त आयोजनाले सौर्य ऊर्जाबाट १० मेगावाट विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्दै आएको छ । आयोजनामा ताला लगाउन पुगेका सम्बन्धित जग्गाधनीहरूले १५ महिनादेखि जग्गा भाडा बाँकी रहेको बताउनुभयो ।
सञ्चालक नवीनकुमार सिंह एक वर्षदेखि सम्पर्कमा नआएको र कार्यालयमा आएर पटक पटक माग गर्दा पनि पैसा नदिएपछि बाध्य भएर आयोजनामा तालाबन्दी गरिएको उहाँहरूले जानकारी दिनुभयो ।