• १ जेठ २०८२, बुधबार

‘सामुदायिक वनको योगदान महत्त्वपूर्ण’

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, साउन २६ गते  । नेकपा (एमाले) का अध्यक्ष तथा संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सामुदायिक वनको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ । 

नेकपा (एमाले) केन्द्रीय वन तथा वातावरण विभागले बिहीबार धुलिखेल नगरपालिका–२ मा आयोजना गरेको बृहत् वृक्षरोपण कार्यव्रmममा उहाँले समुदायको जागरुकताका कारण सामुदायिक वन जोगिएको बताउनुभयो । “भूगोलको हिसाबले नेपाल सानो भए पनि ४६ प्रतिशत जमिन वन क्षेत्र भनेर छुट्याइएको छ, अन्य देशले यस्तो गरेका छैनन् । हिमाल, हिमाली क्षेत्र र वन क्षेत्र गरेर वातावरणका लागि नेपालको योगदान ६२ प्रतिशत रहेको छ । नेपालको हिमाल र वनजङ्गलका कारण हिमताल, नदीनाला र खोल्साको असाधारण महत्त्व छ भने पछिल्ला दिनमा सामुदायिक वनको भूमिका पनि असाधारण रहेको छ,” अध्यक्ष ओलीले भन्नुभयो । 

उहाँले केही वर्षयता वैज्ञानिक वन व्यवस्थापनको नाममा पुराना सालघारी समाप्त पार्ने, सालका वन तथा रुख समाप्त पार्ने र अहिलेका लागि पैसा कमाउने काम भइरहेको आरोप लगाउँदै आफू प्रधानमन्त्री भएका बेला सालको वन समाप्त गर्ने कामलाई रोकेको बताउनुभयो । 

“देशभित्र आरक्षित, निकुञ्ज, सरकारी, सामुदायिक, निजी धेरै प्रकारका वन छन् । सबभन्दा बढी सुरक्षित, संरक्षित र राम्रा वन सामुदायिक वन हुन्, यो अवस्थामा सामुदायिक वनलाई रोजगारीका अवसर सिर्जना गर्ने, आम्दानीका स्रोत बनाउने काममा लगाउनु पर्र्छ,” अध्यक्ष ओलीले थप्नुभयो । उहाँले सामुदायिक वनभित्र मरिच, पान, ल्वाङ, काजु, आँप, कटहर, लिची, अम्बाजस्ता हावापानी सुहाउँदा फलफूल तथा जडीबुटीका बिरुवा रोप्न सुझाव दिनुभयो । 

कार्यव्रmममा एमाले बागमती प्रदेश इन्चार्ज गुरु बरालले सामुदायिक वन र त्यससँग जोडिएका वैभव जोगाउन सबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो । एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले प्रकृतिको रक्षा र वातावरणको रक्षाबिना मानिस र चराचर सृष्टि जगत्को अन्त्य हुने भएकाले प्रकृति र मानव जातिलाई जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

एमालेको वन तथा वातावरण विभाग प्रमुख भारती पाठकले सहस्राब्दी लक्ष्य पूरा गर्न १५ वटा सूचक वनसँग सम्बन्धित रहेको बताउनुभयो । विभागले धुलिखेल–२ स्थित अल्छे सामुदायिक वनमा एभोकाडो, कागती, अम्बा, ओखर, लप्सी, कोइरालो, टाँकीलगायतका फलफूलका चार हजार बिरुवा रोपेको छ ।