• ३० वैशाख २०८२, मङ्गलबार

अस्पताल भवन निर्माण अलपत्र

blog

राधा नेपाली 

सन्धिखर्क, साउन २५ गते । निर्माण कम्पनीको लापरबाहीका कारण अर्घाखाँचीको शीतगङ्गा नगरपालिकास्थित ठाडा प्राथमिक अस्पतालको भवन निर्माण कार्य अलपत्र परेको छ। २०७७ साल चैतमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि तीन वर्ष ढिलो भइसक्दा पनि निर्माण कार्य ठप्प छ। 

अस्पतालको भवन पूर्ण रूपमा निर्माण भएको छैन। निर्माण भएका संरचना पनि अस्तव्यस्त छन्। स्काई भुसाल जेभी अर्खाखाँचीले २०७६ साल असारमा पाँच करोड ६५ लाख नौ हजार ५७२ रुपियाँमा ठेक्का पाएको थियो। 

सुरुमा निर्माण कार्यलाई तीव्रता दिए पनि अहिले भने स्थगित गरिएको छ। भवन निर्माण सम्झौताको ५० प्रतिशतभन्दा बढी रकम ठेकेदारले लिइसकेको बताइएको छ। तर प्राविधिक कारणले भवन निर्माणमा ढिलाइ हुन पुगेको निर्माण कम्पनीले जनाएको छ। कम्पनी सञ्चालक पदम भुसालले सुरुमा खन्ने काम गर्दा पानीको मूल परेर समय लाग्यो र त्यसमा इन्जिनियरिङ समस्या भएकाले ढिलाइ भएको बताउनुभयो। 

त्यसपछि कोरोनाले एक वर्ष काम गर्न सक्ने अवस्था भएन। निर्माण सामग्रीको पनि अभाव भयो, अब मङ्सिरसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने योजनामा छौँ, उहाँले भन्नुभयो। ठेकेदारलाई पटक पटक ताकिता गर्दा पनि निर्माण कार्य सम्पन्न नहुँदा विकास निर्माणका अन्य काम प्रभावित भएको नगरपालिकाले जनाएको छ।

समयमै अस्पताल भवन निर्माण हुन नसक्दा लगानीको उपयोग हुन नसकिरहेको र स्थानीय जनताको स्वास्थ्य अधिकारप्रति नै खेलबाड भइरहेको नगरपालिका प्रमुख छविलाल पौडेलले बताउनुभयो। 

स्थानीय जनताको स्वास्थ्य उपचारसमेत प्रभावित भएकोमा दुःख व्यक्त गर्दै पौडेलले भन्नुभयो, “समयमै सम्पन्न गर्न हामीले धेरै पहल ग-यौँ तर भएको छैन, हामी यसमा चिन्तित छौँ। अब कानुनी पाटोबाट अघि बढाउँछौँ, केन्द्रीय आयोजना भएकाले केन्द्र सरकारसँग पनि समन्वय गर्छौं।”

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले पुनर्निर्माण कार्यक्रम अन्तर्गत अस्पताल भवन निर्माण गर्न २०७६ साल असार १३ गते सम्झौता भएको थियो तर नियमनकारी निकायले प्रभावकारी अनुगमन र चेकजाँच नगर्दा निर्माण कार्य अलपत्र परेको गुनासो स्थानीयको छ।   

उक्त कम्पनीले अस्पताल मात्र होइन सडक निर्माणमा पनि ढिलाइ गरेको नगरपालिकाले जनाएको छ। शीतगङ्गाको हिलेखोलादेखि रजिया, खमोरदेखि अमराई हुँदै दहसम्मको सडक कालोपत्रे गर्ने ठेक्का पाएको थियो। उक्त ठेक्का पनि अलपत्र पारेको छ। नगरपालिकाले निर्माण कम्पनीलाई नै कालोसूचीमा पर्न सक्ने भन्दै चेतावनी दिए पनि अटेर गरेको भनाइ नगर प्रमुख पौडेलको छ।