काठमाडौँ, साउन २५ गते । यस वर्षको गौरा पर्व, दुर्गाष्टमी व्रत भदौ ७ गते बिहीबारका दिन नै मनाउन उपयुक्त हुने अठोला पञ्चाङ्गले सुझाएको छ । अठोला पञ्चाङ्गका पञ्चाङ्गकार डिल्लीराज जोशी, कानुनी सल्लाहकार सदस्य जगतप्रकाश जोशी र प्रकाशक सदस्य भीष्मप्रसाद जोशीले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा श्रावण शुक्ल अष्टमीका दिन नै गौरा पूजन गर्नु उत्तम साइत रहेको उल्लेख गरिएको छ ।
विशेष गरी सुदूरपश्चिम क्षेत्रमा बिरुडा पञ्चमीदेखि अष्टमीसम्म मनाइने गौरा पर्वको साइतका सम्बन्धमा विभिन्न फरक फरक मत आइरहेको सन्दर्भ उल्लेख गर्दै अठोला पञ्चाङ्गले उत्तम साइतका बारेमा जानकारी गराएको हो ।
नारी स्वतन्त्रता, आत्मीयता, शान्ति, प्रेम र सद्भावको पर्व मानिने गौरा सामान्तया भाद्र शुक्ल अष्टमीमा मनाइने गरिन्छ । यस वर्ष भने अधिका मास परेकाले सो तिथि कन्र्याक अर्थात् असोज ८ गते परेकाले गौरा मनाउन नमिल्ने अठोला पञ्चाङ्गको भनाइ छ । भदौ कृष्ण अष्टमीमा पनि गौरा मनाउने प्रचलन रहे पनि ज्योतिर्गणितको अगस्त्योदयको सूत्र अनुसार सूर्यले १३४ अंश ३ कला ४५ बिकल भोग गर्दा भाद्र १५ गते अगस्त्योदय हुने उल्लेख छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भदौ २० गते २८:३ बजे अगस्ती उदय भइसक्ने हुँदा त्यसको तीन दिनपूर्व नै गर्भदोष लाग्ने मान्यता रहेको छ । सोही कारण भाद्र कृष्ण अष्टमीका दिन पनि दुर्वाष्टमी (गौरापर्व) को व्रतगर्न नमिल्ने तर्क अठोला पञ्चाङ्गको रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा ‘धर्म सिन्धु, निर्णय सिन्धु तथा व्रतराजको कथन उल्लेख गर्दै अगस्त्योदय पछि दुर्वाष्टी व्रत गर्न नमिल्ने हुँदा र विगतका प्रचलनसमेतलाई हेर्दा भदौ ७ गते नै उत्तम साइत भएको दाबी गरिएको छ ।