• १ जेठ २०८२, बिहिबार

श्रीमतीको शव फेला, श्रीमान् बेपत्ता

blog

धनुषास्थित कमला नदीको ब्यारेज । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, साउन २४ गते । धनुषाको कमला नदीमा आएको बाढीले बगाउँदा बेपत्ता दम्पतीमध्ये श्रीमतीको शव भेटिएको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियास्थित कमला नदीमा बुधबार १ बजे शव फेला परेको प्रहरीले जानकारी दिएको छ । 

मङ्गलबार ११ बजे पोर्ताहास्थित कमला नदीमा आएको बाढीले गणेशमान चारनाथ नगरपालिका–७ का ३५ वर्षीय साजन परियार र उहाँकी ३० वर्षीय श्रीमती माया पजियारलाई बगाएपछि बेपत्ता भएका थिए । 

बेपत्तामध्ये श्रीमती माया पजियारको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम साहले बताउनुभयो । “बगेको स्थानबाट झण्डै सात किलो मिटर दक्षिणमा उहाँको शव भेटिएको छ, बाढीमा बगेर आएको दाउरा सङ्कलन गर्ने क्रममा दुवै जनालाई बगाएको थियो”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार श्रीमान् साजनको अवस्था अझै अज्ञात रहेकाले खाजी कार्य भइरहेको छ ।