• २२ वैशाख २०८३, मङ्गलबार

उत्तरवाहिनीमा एक सय आठ धारा बन्दै

blog

गल्याङ, साउन २४ गते । यहाँस्थित प्रसिद्ध उत्तरवाहिनी क्षेत्रमा एक सय आठ धारासहित विशाल शङ्ख, हिमाल, गुफा, मुक्तिनाथ भगवानको प्रतिमालगायतका संरचना बन्ने भएको छ । एक सय आठ धारा निर्माण भइरहेका छन् ।

स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित महालिङ्गधाम भनेर चिनिने ऐतिहासिक शङ्खे पीपल परिसरमा गुफाभित्र झरना, ध्यानस्थल, देवीदेवताका प्रतिमालगायतका संरचना निर्माण गरिने मुक्तिनाथ धाम निर्माण समितिका संयोजक जगदीश गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार ७५ मिटर लामो गुफाको प्रवेशद्वारमा शङ्ख र सिंहको प्रतिमा निर्माण हुनेछन् ।

कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका सचिव सोमनाथ न्यौपानेले उत्तरवाहिनी क्षेत्रलाई धार्मिक गन्तव्यको केन्द्र बनाउन यस क्षेत्रका नागरिकको विशेष योगदान रहेको बताउनुभयो । “धारा, गुुफा, प्रतिमासहितका संरचना बनाउन रू. ७० लाखभन्दा बढी खर्चको अनुुमान गरिएको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म शिलालेखमा नाम लेखिने गरी इच्छुकबाट प्रतिव्यक्ति रू. १२ हजारका दरले सहयोग रकम सङ्कलन गरिएको छ ।”

प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्ण प्रभुले हिन्दू धर्मशास्त्रमा उत्तरवाहिनी र कालीगण्डकीको विशेष महत्त्व रहेको उल्लेख गर्दै प्रतिष्ठानको संरक्षकत्वमा यहाँ कालीगण्डकी गुरुकुल सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्राकृतिक अस्पतालसमेत निर्माणाधीन अवस्थामा छ ।

“उत्तरवाहिनी क्षेत्र पछिल्लो समय धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै गएको छ । यहाँ देश तथा विदेशबाट धार्मिक पर्यटक कालीगण्डकी स्नानसँगै शालिग्राम चक्रशिलाको पूजाका लागि आउने गरेका छन्”, प्रभुले भन्नुभयो, “यस क्षेत्र भगवान् रामसहित मार्कण्डेय, मृकण्डु आदिले तपस्या गरेको ठाउँ हो । ऋषि मार्कण्डेयको जन्म पनि यहीँ भएको विश्वास छ ।”

यहाँ अद्भुत चक्रशिला, शङ्खको ध्वनि आउने पीपल, एक सय आठ शिवलिङ्ग, करिब दुई सय जना बास बस्न मिल्ने आवासगृह, स्नान गर्न घाटलगायत संरचना भएकाले पनि यसको अत्यन्त महत्व बढेकाे उहाँको भनाइ थियो । यहाँ सुन्दर, मनोरम र आध्यात्मिक साधनाका लागि उपयुक्त भएको भन्दै प्रभुले यहाँ कहिलेकाहीँ र्‍याफ्टिङ पनि हुने जानकारी दिनुभयो ।

उत्तरवाहिनीमा औँसी तथा कुुसेऔँसीमा श्राद्ध गर्न आउनेहरूको भीड हुन्छ । वैशाख सङ्क्रान्ति, हरिबोधनी एकादशी, हरिशयनी एकादशी, माघे सङ्क्रान्ति, बालाचतुर्दशीलगायतका विभिन्न तिथि तथा पर्वमा स्नान, पूजा एवम् दर्शन गर्न आउनेहरूको भीड लाग्ने गरेको प्रभुले बताउनुभयो । उहाँले भन्नुभयो, “कालीगण्डकी महालिङ्गधाममा आइपुगेपछि तीन किलोमिटर उत्तरतर्फ फर्केर बगेकाले यस क्षेत्रलाई उत्तरवाहिनी भनिएको हो । उत्तरवाहिनी धार्मिक दृष्टिकोणले निकै दुर्लभ र महत्त्वपूर्ण मानिन्छ ।”

प्रभुले निकट भविष्यमा यसै क्षेत्रमा मार्कण्डेय ऋषिको प्रतिमा निर्माण गरिने तयारी भइरहेको पनि बताउनुभयो । उहाँले यस क्षेत्रको महत्व उजागर गरी धार्मिक पर्यटन प्रवर्द्धनसँगै भौतिक संरचनाको विस्तार गर्दै विश्वभर चिनाउने तथा राष्ट्रलाई आर्थिक क्षेत्रमा योगदान पुर्‍याउने लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।

गल्याङ बजारका व्यवसायी शिशिर पौडेलले उत्तरवाहिनी धार्मिक दृष्टिकोणले अन्य धार्मिक स्थलभन्दा पृथक् लाग्ने भएकाले यो अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो । “पैसा खर्च गरेर मुक्तिनाथ जान नसक्नेहरूका लागि मुक्तिनाथबाटै बगेर आएको जलले एक सय आठ धाराबाट स्नान गर्न पाउनु गौरवको विषय हो”, उहाँले भन्नुभयो, “उत्तरवाहिनी क्षेत्रको विकास हुँदा स्याङ्जा, पाल्पा र देशको विकासमा समेत कोसेढुङ्गा साबित हुने विश्वास छ ।” रासस