काठमाडौँ, साउन २४ गते । मानव अस्तित्वसँग प्रत्यक्ष सरोकार राख्ने ‘प्रकृति’ को महिमा उजागर गर्ने चित्र, मूर्तिका साथ बोधिसत्व आर्ट ग्यालरीमा बृहत् कला प्रदर्शनी सुरु भएको छ । पृथ्वीमा जीवन सम्भव बनाउने तत्वहरू आगो, पानी, आकाश, भूमि र हावा, रुख बिरुवालगायतका प्राकृतिक सम्पदाको पूजा गर्दै प्रकृति र मानवबिचको सहअस्तित्वलाई स्विकार्ने परम्पराको मूल सन्देश बुझ्न प्रदर्शनीले मद्दत गर्छ । ती तत्वलाई सनातन हिन्दु र बौद्ध परम्परामा भगवान्का स्वरूपमा पूजा गरिन्छ ।
आर्ट ग्यालरीका सहसंस्थापक अञ्जना शाक्यले भन्नुभयो, “विगतमा विभिन्न ठुला मञ्चमा जलवायु परिवर्तनको असरको चर्चा सुन्दा यसको असर हामीलाई नि पर्ला र ? भन्ने लाग्थ्यो । वास्तवमा यसको प्रभावले हाल बाढीपहिरो, आगलागी, महँगी तथा वायु प्रदूषण हामीले झेलिरहेका छौँ । समाजमा विद्यमान परम्परागत संस्कारले प्रकृतिसँग एकाकार हुन सहयोग पु-याउँदो रहेछ ।” उहाँका अनुसार बिहान उठेर ढोकाको अगाडि लिपेर भूमि पूजा गर्ने, इनार, नदीको पूजा, रातमा आकाशलाई दीप दिने, पिपलका रुखलाई पुज्ने परम्परा त प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्नु हो, आभार प्रकट गर्नु हो । उहाँ भन्नुहुन्छ, “यी सबै सनातनी कर्मलाई निरन्तरता दिइरहँदा नयाँ पुस्तालाई यसको महत्व पनि बुझाउँदै जानु पर्छ ।”
प्राकृतिक स्रोतको जथाभाबी दोहनका कारण समस्त पृथ्वीवासीले समस्या भोगिरहेको सन्दर्भमा प्रकृति नै मानव अस्तित्वको मूल स्रोत हो भन्ने सन्देश प्रदर्शनीले दिएको छ ।
प्रदर्शनीमा अन्नपूर्णेश्वरी, शिवका परिवार, विवाह संस्कार, चराका चित्र, मूर्ति, बोधिसत्व, पञ्चबुद्धका अमूर्त चित्रकला, पञ्चबुद्धका वाहन, विजमन्त्रसहित नयाँ पुस्ताका लागि ‘थ्रिडी डिजिटल’ माध्यमबाट समेत प्रकृतिको महत्वबारे बुझाउने व्यवस्था गरिएको छ । ग्यालरीका निर्देशक प्रज्वल शाक्यले नेपालका चिरपरिचित कलाकारका सिर्जना खरिद गरी ग्यालरीले ‘प्रकृति र उपशीर्षक शिवपार्वती’ मा चित्र र मूर्तिहरू प्रदर्शनीको आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँका स्वर्गीय पिता पूर्णमान शाक्यले नेपाली परम्परागत कलाको महत्वलाई धार्मिक, पौराणिक कथन अनुसार तयार गराउन लामो समयसम्म कलाकारसँगै समय बिताउनुहुन्थ्यो । त्यसरी तयार भएको कलालाई खरिद गरी शाक्य परिवारले सङ्कलन र संरक्षण गर्दै आएको छ । उहाँहरूले हाल पुलचोकस्थित आफ्नै निवासमा बनाइएको बोधिसत्व ग्यालरीमा कलाका पारखी, कलाकार र कला सङ्कलनका लागि प्रदर्शनीमा राखिएको बताउनुभयो ।
निर्देशक शाक्यले पिताको योगदान र रहरलाई जीवन्त बनाउन नयाँ प्रविधिसमेत अपनाउँदै अमूल्य नेपाली परम्परागत कलालाई सबैमाझ ल्याउँदै नयाँ पुस्ताको रुचिलाई पनि ध्यान दिएको बताउनुभयो । प्रदर्शनीमा चर्चित एवं वरिष्ठ कलाकारद्वय उदयचरण श्रेष्ठ र लोक चित्रकारको संयुक्त सिर्जना पञ्चबुद्धका वाहनसहितको चित्रसमेत राखिएको छ ।
कलाकारहरू उदयचरण श्रेष्ठ, राजप्रकाश तुलाधर, मीना डङ्गोल, पुष्पलाल डङ्गोल, समुद्रमान सिं श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजन साङ्गचे, रितेश शाहीको सिर्जनाको सङ्गम यस प्रदर्शनी भदौ ४ गतेसम्म चल्ने छ ।
त्यसै गरी प्रज्वल शाक्य, सिद्धार्थ शाक्य, अनिल शाक्य, अर्जुन शाक्य, विजय शाक्य, वीरेन्द्र शाक्य, ज्ञानेन्द्र शाक्य, निलेश शाक्य, फलसमन शाक्य, राजन शाक्य, राजेश अवाले, सानु महर्जन, सुमन शाक्य, सनी शाक्यको मेहनत र व्यवस्थापनले प्रदर्शनीलाई नयाँ÷पुराना पुस्ताले रुचाउने अवस्थाको वातावरणयुक्त बनाउन सफल भएको बोधिसत्व ग्यालरीले जनाएको छ ।