• १ जेठ २०८२, बिहिबार

लखन्देहीको बाढीले सक्रौलमा बाँध भत्कायो, बस्ती जोखिममा

blog

लखन्देहीले सक्रौलमा बाँध कटान गरेको क्षेत्रमा जम्मा भएका स्थानीय । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, साउन २३ गते । लखन्देही खोलाले बाँध कटान गरेर बस्तीतर्फ बाढी पसेपछि सर्लाहीको कौडेना गाउँपालिका–७, सक्रौल गाउँ जोखिममा परेको छ । 

सोमबार रातभरको अविरल वर्षापछि खोलामा आएको बाढीले बाँध भत्काएर बस्तीतर्फ सोझिएको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादवले जानकारी दिनुभयो । “बाढी बढिरहेकाले तत्काल बाँध कस्न सक्ने अवस्था नै छैन,” गाउँपालिका अध्यक्ष यादवले भन्नुभयो, “फेरि वर्षा थपियो भने पुरै बस्ती नै खाली गरेर स्थानीयलाई अन्यत्र सार्नुपर्ने हुनसक्छ ।”

खोला छेउमै होचो स्थानमा रहेको सक्रौल गाउँमा बर्सेनि बाढी पसेर बस्ती डुबानमा पर्ने गरेको छ । बाढीले खोलाको बाँध कटान गरेर बस्ती डुबानमा पर्न थालेपछि स्थानीय त्रसित भएका छन् । 

स्थानीय सञ्चारकर्मी नीरज यादवका अनुसार खोलाले बाँध भत्काएपछि ५० भन्दा बढी घर जोखिममा परेका छन् । उहाँले बाढी पसेर बस्तीसम्म पुग्न सक्ने अवस्था नरहेको बताउनुभयो । 

यस्तै, बागमती नदीले बरहथवा नगरपालिका–१, हजरिया खर्साल घाटमा बाँध भत्काएको छ । बाढी आएर बाँध भत्काएको स्थानमा जनप्रतिनिधि र स्थानीय बासिन्दासँग समन्वय गरी तत्काल अस्थायी रूपमा बाँध कस्ने काम गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लीलाराज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार पुनः भारी वर्षा भई नदीमा बाढी आए किसानको खेत र बस्तीमा क्षति गर्ने अवस्था रहेको छ । प्रहरी नायब उपरीक्षक लामिछानेका अनुसार बाढी पसेर हजरिया क्षेत्रमा उखु र मकै बालीमा क्षति पुर्‍याएको छ । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हजरिया र सक्रौलमा बाँध कटान गरेर डुबानको जोखिम रहे पनि जिल्लामा अन्यत्र सामान्य अवस्था रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी यादवसहितको टोली मङ्गलबार दिउँसोबाट बाढी तथा डुबान प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएको छ ।

अविरल वर्षापछि जिल्लाको चुरेभेगका नारायण खोला, पिपलदमार, शिर कालिञ्जोर लगायत खोलाको बगर भएर आवतजावत गर्नुपर्ने क्षेत्रमा आउजाउ बन्द भएको छ ।