• ३० वैशाख २०८२, मङ्गलबार

एक दशकदेखि सडक जस्ताको जस्तै

blog

तानसेन समााचारदाता

पाल्पा, साउन २२ गते  । एक दशकदेखि सडक मर्मत हुन नसक्दा यहाँका बासिन्दा कठिनपूर्ण यात्रा गर्न बाध्य भएका छन् । जिल्लाको पश्चिम भेग जाने तानसेन–हार्थोक–छहरा सडक एक दशकदेखि मर्मत हुन नसक्दा यहाँ यात्रा गर्ने यात्रुहरूले सकसपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।  

जिल्लाको पश्चिम भेगकै मुख्य सडक एक दशकयता मर्मत हुन सकेको छैन । पाल्पा, गुल्मी, अर्घाखाँचीका बासिन्दाले यो सडक भएर यात्रा गर्छन् । दैनिक सयौँ सवारीसाधन ओहोरदोहोर गर्ने सडकको मर्मत हुन नसक्दा यात्रु सास्ती भोग्दै यात्रा गर्न बाध्य भएको स्थानीय बासिन्दाले बताएका छन् । 

छ वर्षसम्म लुम्बिनी प्रदेश सरकारले सडकको मर्मतमा ध्यान दिँदा कालोपत्रे सडकको सबै भाग जीर्ण बनेको छ । यस सडकको अधिकांश स्थानमा परेका खाल्टाखुल्टीले सवारीसाधन गुडाउन अप्ठेरो छ । सडकमा परेका खाल्टाखुल्टीले यात्रा गर्न कठिन भएको रिब्दीकोट–७, पालुङ्मैनादीका स्थानीय बासिन्दा डुलबहादुर कुँवरले बताउनुभयो । 

उहाँले भन्नुभयो, “कच्ची सडकमा यात्रा गर्न सहज छ तर पक्की सडकमा यात्रा गर्दा उचाल्ने र पछार्ने भएको छ । कच्ची र पक्की सडक छुट्याउन गाह्रो भएको छ । दुवै खालका सडकमा ठुला खाल्डा छन्, सवारीसाधनभन्दा पैदल छिटो पुगिन्छ भन्ने पो हुन थालेको छ ।”

केही वर्षअघिसम्म यो सडक कसले हेर्ने भन्ने विवाद थियो । यो वर्ष सङ्घीय सरकार मातहत सडकको जिम्मेवारी तोकिएको छ । यद्यपि यो वर्ष पनि सडक सुधारका लागि पर्याप्त बजेट विनियोजन हुन सकेको छैन । 

सङ्घीय सरकारले ४१ किलोमिटर सडक निर्माणका लागि चालु आवमा जम्मा १० लाख विनियोजन गरेको स्थानीय बासिन्दाको भनाइ छ । १० लाख रकमले सडकको मर्मतसुधार हुन नसक्ने रैनादेवी छहरा–४ का स्थानीय विष्णुप्रसाद पोखरेलले बताउनुभयो । सडकको जिम्मेवारी लिने निकायले सडकलाई प्राथमिकता दिन नसक्दा यात्रुले सास्ती बेहोर्न बाध्य भएको उहाँले बताउनुभयो । 

अघिल्लो वर्षसम्म लुम्बिनी प्रदेश सरकारले यस सडकखण्डलाई रामपुर–कपुरकोट सडक अन्तर्गत योजनामा समावेश गरेर सडक सुधारको योजना अघि बढाएको थियो । उक्त योजनाले पाल्पा खण्डमा काम गर्न नसकेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले बताउनुभयो । 

सडकका खाल्डका कारण हजारौँ यात्रुले सास्ती बेहोर्न बाध्य भएका छन् । जिल्लाका जनप्रतिनिधिले समेत यस सडकलाई भन्दा साना योजनालाई मात्र प्राथमिकता दिने गरेको यात्रुको बुझाइ छ ।