• १२ असार २०८१, बुधबार

ताप्लेजुङमा घटेन ग्यासको मूल्य

blog

फुङ्लिङ बजारका एक बिक्रेताको पसलमा रहेको ग्यास सिलिन्डर । तस्बिर : चन्द्र पन्दाक

ताप्लेजुङ, साउन २१ गते । सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि ताप्लेजुङमा भने पुरानै मूल्यमा बिक्री गरिँदै आएको छ । सरकारले छोटो अवधिमै ग्यासको मूल्य दुई पटकसम्म घटाए पनि यहाँका व्यापारीले पुरानै मूल्यमा बिक्री गरिरहेका हुन् ।

सरदरमुकाम फुङ्लिङ बजारका स्थानीय व्यापारीले पुरानै मूल्यमा ग्यास बिक्री गर्दै आएका कारण उपभोक्ताहरू मारमा परेका छन् । सरकारले ग्यासको मूल्य घटाउँदा केही सहुलियत मिलेको अनुभूत गरेको भए पनि व्यापारीले मूल्य नघटाउँदा आफूहरू मारमा परेको सर्वसाधारण उपभोक्ताको गुनासो छ ।

फुङ्लिङ बजारमा स्थानीय व्यापारीले ग्यास पुरानै मूल्य प्रतिसिलिन्डर दुई हजार १५० रुपियाँमा बिक्री गरिरहेका छन् । ग्यासको स्थानीय बजार मूल्य केन्द्रको भन्दा धेरै महँगो छ । ढुवानी खर्चका आधारमा ग्यास महँगोमा बिक्री गर्नुपर्ने अवस्था रहेको व्यापारी बताउँछन् ।

सरकारले पछिल्लो पटक गएको मङ्गलबार ग्यासको मूल्य प्रतिसिलिन्डर १३० रुपियाँ घटाएको छ । नेपाल आयल निगमले मूल्य घटाएपछि केन्द्रमा एउटा ग्यास सिलिन्डरको मूल्य एक हजार ६६० रुपियाँ कायम भएको छ । त्यस्तै गत असार ३१ गते प्रतिसिलिन्डर १० रुपियाँ मूल्य घट्दा केन्द्रमा ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ७९० रुपियाँ भएको थियो । 

निगमले दुई–दुई पटक ग्यासको मूल्य घटाए पनि ताप्लेजुङमा भने नघटाइएको अर्थात् पुरानो मूल्यमै बिक्री गरिँदै आएको हो । ढुवानी रकम केही वृद्धि भएकाले ग्यास पुरानै मूल्यमा बिक्री गर्दै आएको स्थानीय व्यापारी बताउँछन् ।    

यता ग्यास सिलिन्डरको स्थानीय बजार मूल्य र हालको बिक्री वितरणको अवस्थाबारे जिल्ला बजार अनुगमन समिति बेखबर रहेको छ । समिति संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले ग्यासको बिक्री मूल्यका सम्बन्धमा अहिलेसम्म कसैले कुनै जानकारी नदिएको बताउनुभयो । यस विषयमा वास्तविकता बुझ्ने सहायक प्रजिअ भट्टराईको भनाइ छ ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।