• १३ साउन २०८१, आइतबार

मलको अभाव पूरा गर्न आयो ‘जैविक सम्पूर्ण मल’

blog

काठमाडौँ, साउन २१ गते । रासायनिक मलको अभाव पूरा गर्न मकवानपुरमा अर्गानिक मल उत्पादन हुने भएको छ । राजेश्वर बायो फर्टिलाइजर्स कम्पनीबाट भदौदेखि सो मल उत्पादन हुने भएको छ ।

राजेश्वर बायोका प्रमुख हृदयराज गौतमले नेपालमा मलको आवश्यकता जति छ, त्यति मल उत्पादन गर्ने आफूहरूको लक्ष्य रहेको बताउनुभयो । बर्सेनि हुने मलको हाहाकारलाई आफूहरूले रोक्ने प्रयत्न गरेको उहाँले बताउनुभयो । पहिलो वर्ष दुई लाख मेट्रिक टन र दोस्रो वर्षदेखि बढाउँदै जाने र छैटौँ वर्षसम्म साढे सात लाख मेट्रिक टनसम्म मल उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेपालमा सातदेखि आठ लाख मेट्रिक टन मलको आवश्यकता छ, त्यो हामीले पूरा गर्छौं र त्यसको तयारी लगभग पूरा भएको छ ।” नेपालमा उत्पादन हुने अन्य अर्गानिक मलभन्दा आफूहरूको मल बिलकुल फरक रहेको दाबी गर्दै उहाँले आफूले उत्पादन गर्ने मल जैविकको सम्पूर्ण मल हुने दाबी गर्नुभयो ।

आफूहरूले उत्पादन गर्ने मलमा नाइट्रोजन, फस्फोरस र पोटास एक साथ हुन्छन् । नेपालमा हालसम्म उत्पादन भएको अन्य मलभन्दा यसको गुणस्तर उच्च रहेको दाबी उहाँले गर्नुभयो । आफूहरूले उत्पादन गर्ने मलको गुणस्तर एनपिके (नाइट्रोजन, फस्फोरस र क्यालिक) क्रमशः ३–२–३ रहेको छ, यो गुणस्तरको मल नेपालमा छैन भनी आफूहरूको दाबी रहेको उहाँले बताउनुभयो ।

सम्भवतः नेपालको अर्गानिक मलमा एक साथ नाइट्रोजन, फस्फोरस र पोटास छँदै छैनभन्दा पनि हुन्छ । सरकारले अर्गानिक मलका लागि १–०.५–१ देखि ४–३–६ सम्म एनपिके रहने मापदण्ड बनाएको छ । त्यसमध्ये आफूहरूले उत्पादन गर्ने मलको एनपिके क्रमशः ३–२–३ रहेको छ, जो नेपालको हकमा उच्च गुणस्तर रहेको उहाँले दाबी गर्नुभयो ।

रासायनिक मलको एउटैमा नाइट्रोजन, फस्फोरस र पोटास हुँदैन । युरियामा नाइट्रोजन, डिएपीमा फस्फोरस हुन्छ भने पोटास छुट्टै हुन्छ तर आफूहरूले एनपिके एउटैमा दिइरहेकाले त्यसलाई ‘जैविक सम्पूर्ण मल’ भनिएको उहाँले दावी गर्नुभयो ।

आफूहरूको मल रौतहट, मकवानपुर र चितवनमा परीक्षण भइसकेको बताउँदै उहाँले किसानले पनि मन पराएका कारण मल उत्पादनमा जोड दिएको बताउनुभयो । रासायनिक मल जस्तै उत्पादन दिन थालेपछि किसानले यो मल नै प्रयोग गर्ने भएपछि भदौदेखि उत्पादन सुरु गर्न लागेको उहाँले जानकारी दिनुभयो । सुरुमा तीन करोडको लगानी रहेको छ । उत्पादन वृद्धि गर्दै गएपछि लगानी पनि वृद्धि गर्दै जाने उहाँले बताउनुभयो ।