• १४ पुस २०८१, आइतबार

उच्च पाटनमा नदी तरेर चरनमा

जोखिम मोलेर चौरी गाई चरनमा लानुपर्ने बाध्यता

blog

उच्च पाटनमा बग्दै आएको लिमी कर्णाली नदीमा वारपार गर्ने पुल नभएपछि नदी तर्दै चौरी गाई ।तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, साउन २० गते । नाम्खा गाउँपालिका–६ को लिमी र सिमकोट गाउँपालिका–१ को चुवाँखोला क्षेत्रका उच्च पाटनमा चौरी गाईलाई नदी तरेर चर्न जानुपर्ने बाध्यता छ । नदी पारी चरन क्षेत्र भएको तर नदी पुल निर्माण नभएको कारण नदीमै तरेर चौरी गाईलाई तर्नु पर्नेबाध्यता रहेको हो । 

लिमी हल्जी गाउँका कुन्छाङ नम्डुल तामाङले उच्च पाटनको लिमी कर्णालीमा पुल निर्माण नभएको कारण चौरी गाईलाई नदी तरेर चर्न लगाउनु परिरहेको बताउनुभयो नदीमा पानीको बहाब बढी भएको कारण निक्कै कठिनाईका साथ चौरीले नदी तर्ने गरेका छन् । 

उहाँले खर्क एकातिर र चरन अर्को पट्टी भएको कारण पनि नदी तारेर चौरी गाई चराउन लानुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले यो समस्या एक वर्ष मात्र नभएर वर्षौदेखि भोग्दै आएको सुनाउनुभयो । 

उहाँले लिमी कर्णालीको उच्च पाटन क्षेत्रमा पुल निर्माण गर्न माग गर्नुभयो । यसरी नदी तारेर चौरीलाई चराउन लैजानुपर्ने भएको कारण वर्षेनी दुई चार वटा चौरी गाई नदीले बगाएर लग्ने समस्या लिमीवासीले भोक्दै आएका छन् । 

यता सिमकोट गाउँपालिका– १ को दोजाम गाउँका छिरिङ लामाले चुवाँखोला नदीमा पनि नदी तारेर चौरी लगायत अन्य पशुलाई वनमा चराउन लानुपर्ने बाध्यता रहेको सुनाउनुभयो । नदी वारीपारी दुवैतर्फ चरन क्षेत्र भएको कारण नदी तर्नुपर्ने बाध्यता छ । 

दिनभर चरेर चौरी गाई खर्कमा फिर्ता नआउन्जेलसम्म चिन्ता लाग्ने गरेको बताउनुभयो । चुवाँखोला क्षेत्रमा चौरी गाईलाई नदी तारे पठाए पनि गोठाला भने डेढ घण्टा तलको काठेपुल तरेर वारपार गर्दै आएका छन् ।सो क्षेत्रमा पनि वर्षेनी चौरी गाई र अन्य पशुलाई नदीले बगाउने गरेको छ ।