• १३ साउन २०८१, आइतबार

पर्यटक बढेसँगै गलेश्वरमा ठुला होटल

blog

बेनी समाचारदाता 

म्याग्दी (बेनी), साउन १९ गते । म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर धाममा पर्यटक आगमन बढेसँगै नयाँ होटल खुल्ने क्रम बढेको छ । कालीगण्डकी कोरिडोरमा पर्ने गलेश्वर शिवालय पछिल्लो समय धार्मिक पर्यटनको गतिलो गन्तव्यका रूपमा विकास हुँदै जान थालेको छ । 

मुस्ताङको प्रवेशद्वारका रूपमा समेत परिचित गलेश्वरधाम दर्शनका लागि पछिल्ला केही वर्षयता भारतीय धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । बेनी बजारदेखि नजिक र शान्त वातावरण भएकाले बास बस्नका लागि गलेश्वर पर्यटकको रोजाइमा पर्न थालेको छ । 

सुविधासम्पन्न होटलको सङ्ख्या कम भएकाले पर्यटक अहिले गलेश्वरमा बास बस्दैनन् । यहाँ अहिले होटल प्याराडाइज, होटल ताजमहल र होटल रिभरसाइड सञ्चालनमा छन् ।  

दुई वर्षअघि होटल ताजमहल खुलेको हो । पर्यटकको सङ्ख्या वृद्धि हुन थालेपछि नयाँ होटल खुल्ने क्रम बढेको होटल प्याराडाइजका सञ्चालक पदम छन्त्यालले बताउनुभयो । पर्यटकीय सिजनमा होटलको अभाव हुने गरेको उहाँले बताउनुभयो । 

२० वर्षदेखि बेनीबजारमा होटल व्यवसाय गर्दै आउनुभएका होटल याकका सञ्चालक बाबुराम आचार्यले गलेश्वर क्षेत्रमा दुई रोपनी क्षेत्रफलमा करिब १४ करोड लगानीमा सुविधासम्पन्न नयाँ होटल निर्माण गर्दै हुनुहुन्छ । 

“भविष्यमा गलेश्वर क्षेत्र धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास हुने सम्भावना देखेर नयाँ होटल निर्माणको योजना अगाडि सारेको हुँ,” होटल याकका सञ्चालक आचार्यले भन्नुभयो, “गलेश्वर धार्मिक पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्र भएको र पछिल्लो समय पर्यटक आगमन वृद्धि भएसँगै होटलको आवश्यकता महसुस गरेर नयाँ होटल सञ्चालनको तयारी गरेको छु ।” 

बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति भई पूर्ण रूपमा सञ्चालनमा आएपछि पर्यटकको सङ्ख्यामा अझै वृद्धि हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो । 

शान्त वातावरण, धार्मिक क्षेत्र र कालीगण्डकी नदीको चिसो हावापानीसहित दृश्यावलोकनका लागि पनि उपयुक्त भएकाले नयाँ होटलका लागि गलेश्वर रोजेको उहाँको भनाइ छ ।