अविनाश चौधरी
धनगढी, पुस ११ गते । ढकमक्क तोरी फुलेपछि कैलालीको खेतबारी फहेँलपुर बनेको छ । किसानले खेतबारीमा छरेको तोरी यतिबेला प्रायः सबैतिर फुल्दा पहेँलपुर भएको हो ।
तोरी फुलेपछि तराईको फाँट पहेँलो देखिन थालेको छ । तोरीको फूलमा मौरी खेलेको दृश्यहरु लोभलाग्दा देखिने गरेका छन् । पछिल्लो समय कैलालीमा तेलहन बालीको खेती बिस्तारै बढ्दो क्रममा छ ।
गहँु, मसुरोलगायतको हिउँदे बालीलाई छाडा चौपायाले बढी नोक्सान गर्ने गरेका कारण किसानहरुको आकर्षण तोरी खेतीतिर बढिरहेको छ । विभिन्न पालिकामा तोरी जोन बनाएर तोरी खेती गर्ने कार्य भइरहेको छ ।

अन्य बालीलाई छाडा चौपायाले धेरै खाने गरेका कारण किसानले गहुँ, मसुरो खेती छोडेर तोरी खेती बढी गर्न थालेको कैलारी गाउँपालिका –३ का सुजित चौधरीले बताउनुभयो । उहाँका अनुसार व्यवस्थापन गर्न नसक्दा कैलारीसहित विभिन्न पालिकामा छाडा चौपायाको ठुलो समस्या रहेको छ । तोरीलाई जनावरले कम क्षति गर्नेगरेको जनाइएको छ ।