खुकुरी र अदुवाले प्रख्यात सल्यानको सदरमुकाममा शारदा नगरपालिका पर्दछ। शिक्षा, स्वास्थ्य, कृषिमा विशेष जोड दिँदै आएको शारदा नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट प्रकाश भण्डारी प्रमुख हुनुहुन्छ। विगतकै राम्रा योजनालाई अघि सार्दै केही नयाँ योजना पूरा गर्ने सोचमा प्रमुख भण्डारी हुनुहुन्छ। प्रस्तुत छ, शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीसँग नगरको विकास, निर्माण तथा आगामी योजनाबारे गोरखापत्रका सल्यान समाचारदाता प्रतीक इच्छुक शर्माले गर्नुभएको कुराकानीको सार–
शारदा नगरपालिकाको अवसर र सम्भावना के कस्तो छ ?
शारदा नगरपालिका सदरमुकामको पालिका र जिल्लाकै प्रमुख शहरीकरण उन्मुख पालिका भएकाले पनि यहाँ प्रशस्त सम्भावना छन्। देशमै प्रसिद्ध सल्यानी खुकुरी, माल्नेटाको अदुवा, टिमुर, सुन्तला पशुपालनका लागि राम्रो सम्भावना बोकेको छ। नगरको सम्पत्तिका रूपमा रहेको चुनढु्ङ्गा खानीको उत्खनन गर्न सकियो भने यसले थप आर्थिक समृद्धिमा टेवा पु¥याउने छ। खैरावाङ मन्दिरलाई धार्मिक पर्यटनका रूपमा नगरले विकास गर्ने काममा लागेको छ। जिल्लाकै सुगम पालिकाका रूपमा रहेको नगरको श्रीनगर शैक्षिक हबका रूपमा विकास हुँदै गएको छ। श्रीनगर क्षेत्रलाई औद्योगिक ग्रामका रूपमा स्थापित गरी विभिन्न रोजगारीका अवसरसमेत सिर्जना गर्न सकिने प्रशस्त सम्भावना रहेको छ ।
तपाईंको पालिकाको मुख्य समस्या के के हुन् र कसरी समाधान गर्ने योजना छ ?
मुख्य समस्या भनेकै पालिकाको सीमित बजेट र कर्मचारी अभाव हो। जसले गर्दा हामीले जनताका आवश्यकता बमोजिमको काम गर्न सकेका छैनौँ। यसको समाधानका लागि नागरिकलाई रोजगारी तथा उत्पादनसँग जोड्नेखालका कार्यव्रmमको व्यवस्थापनमा नगरपालिका लागिरहेको छ। आर्थिक पाटोलाई मजबुद बनाउन हामीले करको दायरालाई बढाउने योजनामा रहेका छौँ। जसबाट सङ्कलित राजस्वलाई विकासका काममा प्रयोग गरिने छ।
आफ्नो पालिकाको विकासका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग के कसरी समन्वय गर्नुभएको छ ?
म निर्वाचित भएपछि मैले हाम्रो पालिकाको पाँच वर्षको विकास बजेटभन्दा पनि बढी ९२ करोड रकमको खानेपानीको आयोजना सञ्चालनमा आएको छ। नगरभित्रका विभिन्न विकासे काम गर्नका लागि पर्याप्त बजेट व्यवस्थापनमा पटक पटक प्रदेश तथा सङ्घ सरकारसँग विभिन्न योजना मागका लागि मैले भगिरथ प्रयत्न तथा समन्वयको काम गरेको छु। फलस्वरूप विगतको तुलनामा केन्द्र र प्रदेशबाट विभिन्न योजना निर्माणका लागि बजेटको विनियोजन भएको छ।
समृद्ध पालिकाका लागि अबको चार वर्षको अवधिमा के के गर्ने योजना रहेको छ ?
विशेषतः मैले शिक्षा र स्वास्थ्यलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छु। शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न प्रयत्न र बजेटको व्यवस्थापन गरेको छु। अबको चार वर्षको अवधिमा सामुदायिक विद्यालयप्रति नागरिकको आकर्षण बढाउने गरी काम गर्ने उद्देश्य रहेको छ। अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य उपचार सेवालाई निरन्तरता दिने, नागरिकलाई रोजगारी र कृषि उत्पादनसँग जोड्ने तथा नगरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने गरी काम भइरहेका छन् र त्यसले चार वर्षमा पूर्णता पाउने छ।
जनताको सरकार भनेर चिनिने तपाईंको स्थानीय तहले विकास निर्माण र सेवा प्रवाहलाई कसरी अघि बढाइरहेको छ ?
विकासमा सबैको समान पहुँच कायम हुने गरी काम भएका छन्। सेवा प्रवाहलाई छिटो छरितो बनाउन काम गरेको छु।
बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न के कस्ता योजना बनाउनुभएको छ ?
दीर्घकालीन रूपमा प्रभाव छाड्ने गरी शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार निर्माणलगायतका विषवस्तुलाई प्राथमिकीकरण गरी विभिन्न योजना बनेका छन्। यसको कार्यान्वयनका लागि विषयगत शाखालाई उचित परिचालन तथा प्रोत्साहन गरिरहेका छौँ। हामी पनि योजना कार्यान्वयनका लागि जनता, सरोकारवाला निकायसँग नियमित सम्पर्क र समन्वयकारी भूमिका खेलिरहेको छौँ।
तपाईंको स्थानीय तहलाई नमुनायोग्य बनाउन विशेष कुनै कार्यक्रम ल्याउनुभएको छ ?
यस क्षेत्रको अदुवा र सल्यानी पहिचान बोकेको सल्यानी खुकुरीको ब्रान्डिङ गर्ने कार्यक्रमको थालनी भएको छ। यसका अलावा पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि विभिन्न संरचना निर्माणको काम भएका छन्।
यो एक वर्षको अवधिमा के कस्ता चुनौती भोग्नुभयो ?
काम गर्ने क्रममा चुनौती आउनु स्वाभाविक हो। मुख्यतः सीमित बजेट नै मुख्य चुनौतीको रूपमा देखियो। प्रमुख प्रशासकीय अधिकृत नहुनु, वडामा सचिव नहुनु, अर्को कुरा नागरिकका ससाना आवश्यकतामा पनि स्थानीय सरकारको भर पर्नुले हाम्रा ठुला योजना निर्माणलाई प्राथमिकतामा राख्दा साना योजना छुट्न पुगेका छन्। त्यसको परिपूर्ति आगामी दिनमा गर्ने छौँ।
तपाईंको स्थानीय तहमा बेरुजु र सार्वजनिक खरिदको अवस्था के कस्तो छ ? बेरुजु घटाउन कतिको सफल हुनुभएको छ ?
हामीले शून्य बेरुजुमा काम गर्न खोजिरहेका छौँ , सार्वजनिक खरिद ऐन अनुसार नै काम भएका छन्। विगतको तुलनामा मेरो कार्यकालमा बेरुजु घटेको छ।
काम गर्दाका समस्या के के छन् ? साधन स्रोत, जनशक्ति विकास र प्रविधिको पहुँचको अवस्था कस्तो छ ?
नागरिकको सोच परिवर्तन हुन नसक्नु पनि एक प्रकारको समस्याका रूपमा रहेको छ। यसका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्। साधन स्रोत र जनशक्तिको अभाव कायमै छ। प्रविधिको उच्चतम प्रयोगलाई हामीले बढावा
दिएका छौँ।
प्रदेश सरकार र केन्द्रीय सरकारबाट आवश्यक सहयोग र समन्वय भएको पाइरहनुभएको छ कि छैन ?
विगतको तुलनामा सुधार भए पनि अन्य पालिकाको तुलनामा हामीलाई प्रदेश र सङ्घ सरकारबाट बजेट कार्यक्रमबाट अपहेलित भएको महसुस गरेका छौँ।
स्थानीय तहले भोग्नु परेका मुख्य समस्या के के छन् ? त्यसको समाधानका लागि के कस्ता पहल गरिरहनुभएको छ ?
जिल्लाकै जेठो नगर र सबैभन्दा बढी वडा भए पनि अन्य पालिकाको तुलनामा सङ्घीय सरकारबाट कम बजेट आउँदा विकासे काममा समस्या भोगेका छौँ। बजेट वृद्धिका लागि पहल गरिरहेको छु।
स्थानीय तहको स्रोत वृद्धि गर्न के के गरिरहनुभएको छ ?
कृषि उत्पादनमा वृद्धि र बजारीकरणका साथै करको दायरा फराकिलो बनाउने काम भइरहेका छन्। नगरभित्रको पर्ती ऐलानी जग्गामा बनेका घर टहरा हटाई पक्की संरचना बनाई त्यसबाट आर्थिक आम्दानीको स्रोत वृद्धि गर्नतर्फ लागिरहेका छौँ।
समृद्ध पालिकाका लागि अबको चार वर्षको अवधिमा के के गर्ने योजना रहेको छ ?
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको विकास तथा पूर्वाधार निर्माण, व्यवस्थित बसपार्क निर्माण र जीवनस्तर सहजताका लागि विभिन्न काम तथा योजनामा काम गरेका छौँ। समग्रमा नागरिकले सम्झनलायक काम हुने छन्।