• १३ साउन २०८१, आइतबार

म्याग्दीमा उनन्तिस हजारभन्दा बढी पर्यटक

blog

दरबाङ समाचारदाता 

म्याग्दी (दरबाङ), साउन १६ गते । गत आर्थिक वर्ष २०७९/८० मा २९ हजारभन्दा बढी पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा २९ हजार ३२८ जना पर्यटकले म्याग्दी जिल्लाको भ्रमण गरेका हुन् । आव २०७८/७९ मा सात हजार ९२६ जनाले भ्रमण गरेका थिए । 

गत वर्ष बेलायत, फ्रान्स, चीन, कोरिया, अमेरिका र भारतबाट धेरै पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । यसै गरी स्लोभाकिया, सर्बिया, भियतनाम, चिली र ताइवानबाट कम पर्यटक म्याग्दी आएका छन् । स्वदेशी तथा विदेशी पर्यटकले जिल्लास्थित विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको भ्रमण गरेका छन् ।

गत आवमा म्याग्दी भित्रिने पर्यटकको सङ्ख्या २२ हजार २१ र बाहिरिनेको सङ्ख्या सात हजार ३०७ जना रहेको छ । जिल्लाको उत्तरी भुरुङ–तातोपानी, सदरमुकाम बेनीबजार र पश्चिम म्याग्दीको दरबाङ क्षेत्रको नाका हुँदै पर्यटक जिल्ला भित्रिने गरेका छन् । प्रहरीको तथ्याङ्क अनुसार ८० प्रतिशतभन्दा भढी पर्यटक जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी, पुनहिल क्षेत्र घुम्ने गरेका छन् । 

जिल्लामा अवस्थित धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोप्रालेक, अन्नपूर्ण, धौलागिरि सेन्चुरी, धौलागिरि चक्रीय, धौलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत क्षेत्रको  भ्रमणका  लागि पर्यटक आउने गर्दछन् । 

घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले कोभिड–१९ पछि गत आवमा पर्यटकको सङ्ख्या वृद्धि भए पनि अपेक्षाकृत नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिडपछिका तीन वर्ष होटल बन्द गरेर बस्नु परेको थियो, गत आवमा भने पर्यटकको सङ्ख्या वृद्धि भयो ।” पथपदर्शकबिना पदयात्रामा जान नपाउने नियमका कारण कम आयस्रोत भएका र एक्लै घुम्न चाहने पर्यटक नआएको उहाँको भनाइ छ ।