• १ जेठ २०८२, बिहिबार

मधेश प्रदेश सरकारको मन्त्रिपरिषदले पायो पूर्णता

blog

सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री यादवले नवनियुक्त मन्त्रीहरुलाई बधाइ दिनुहुँदै । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, साउन १५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाँचौ पटक मन्त्रिपरिषद बिस्तार गर्नुभएको छ । सोमबार गृह सञ्चार तथा कानून मन्त्रीमा नेपाली काँग्रेसका मोहम्मद समिम र श्रम तथा यातायात मन्त्रीमा जनमत पार्टीका चन्दन सिंहलाई नियुक्त गरेपछि मुख्यमन्त्री यादव नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाएको हो । 

नव नियुक्त दुवै जना मन्त्रीले आजै पद तथा गोपनीयताको सपथ समेत लिनु भएको छ । प्रदेश प्रमुखको निवासमा आयोजित एक समारोहबीच दुबै जना मन्त्रीलाई मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको थियो । 

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव, प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलसहित मन्त्रीगण र उच्चपदस्थ कर्मचारीको सहभागिता रहेको थियो । आजै नवनियुक्त गृह सञ्चार तथा कानूनमन्त्री समिमले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभयो । 

मन्त्री समिमले पदभार ग्रहण गर्दै शन्ति सुरक्षालाई थप प्रभावकारी बनाउनुको साथै आर्थिक वर्ष २०८०–८१ का लागि मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट इमान्दारिताका साथ अगाडि बढाउने निर्णय गर्नुभएको छ ।

त्यस्तै, नवनियुक्त गृह सञ्चार तथा कानूनमन्त्री समिमले आजै आफना मन्त्रालय मातहतका कर्मचारीलाई जनताले महशुस गर्ने किसिमले कामकाज गर्न निर्देशन समेत दिनुभयो । उहाँले प्रदेशमा सञ्चार क्षेत्रको बिकासका लागि नवीनतम प्रविधिको अधिकतम प्रयोग, प्रेस स्वतन्त्रता, सञ्चार तथा सूचनाको हकको सुनिश्चित्ता र नागरिकमा सूचनाको पहुँच विस्तारमा असल अभ्यास र नयाँ दृष्टिकोणबाट काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।