• १३ साउन २०८१, आइतबार

बाँकेमा चार हजार मेट्रिक टन बढी मल वितरण

blog

बाँकेमा सहकारीलाई मल उपलब्ध गराउँदै आएको कृषि सामाग्री कम्पनी लिमिटेड । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, साउन १५ गते । प्राय हरेक वर्ष मलको अभाव हुँदै आएको बाँके जिल्लामा यस वर्ष मल पर्याप्त मात्रामा मौज्दात रहेकोले अभाव नभएको कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जले जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रमेश पौडेलका अनुसार बाँकेमा हाल ७० मेट्रिक टन युरिया, २५ मेट्रिक टन डिएपी र ६० मेट्रिक टन पोटास गरेर १२५ मेट्रिक टन मल मौज्दातमा रहेको छ । 

प्रमुख पौडेलले मल लिन आउने किसानले यस पटक मल नपाएको गुनासो हालसम्म नगरेको जनाउँदै गत आर्थिक वर्ष २०७९÷०८० मा चार हजार १२५ मेट्रिक टन मल वितरण गरिएकोले पनि अभाव नभएको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७९÷०८० मा एक सय ७ वटा सहकारीमार्फत एक हजार ४५८ मेट्रिक टन डिएपी, दुई हजार ५५० मेट्रिक टन युरिया र ११७ टन पोटास वितरण गरिएको जनाउनुभयो । 

कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख पौडेलले अझै थप मल पनि आउने प्रक्रियामा रहेको र केही दिनमै आइसक्ने हुँदा झनै अभाव र समस्या नहुने बताउनुभयो । उहाँले थप्नुभयो, “गएको आर्थिक वर्षमा हामीले सुरुबाटै मल वितरणमा ध्यान दिएर पर्याप्त मल वितरण गर्न सफल भएकाले अहिले समस्या नभएको हो ।” 

दुर्गममा रहेको नरैनापुर लगायत केही पालिकमा समस्या रहेको गुनासो आएकोले नियमन पनि गरिरहेको कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जले जनाएको छ । सो कार्यालयका अनुसार मल नपाएको वा दुरुपयोग भएका गुनासा पालिकामार्फत वा स्वयम् प्रमाणसहित आएमा आवश्यक कारबाही गरिनेछ । त्यस्तो अवस्थामा डिलर खारेज गर्नेसम्मको कारबाही हुनेछ । 

जिल्लामा मलको समान वितरण होस् भन्ने उदेश्यलेनै एकै ठाउँमा मल स्टक गर्न नदिइएको कार्यालयले जनाएको छ । गत वर्षभन्दा यस वर्ष बाँकेमा रासायनिक मल सहज रूपमा उपलब्ध भएपनि वितरणमा नियमनको खाँचो देखिएको किसानको माग छ । निरन्तर निगरानी नहुँदा आवश्यकता नभएकाले मल लिने र बेचबिखन गर्ने समेत जोखिम बढेको उनीहरूको भनाइ छ ।

मलको दुरुपयोग रोक्नका लागि वितरणको जिम्मा पाएको सहकारी र स्थानीय तहले नियमनलाई कडाइका साथ लागु गर्नुपर्ने कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख पौडेलले बताउनुभयो । सूचीकरणमा परेका सहकारी संस्थालाई साल्ट टे«डिङ र कृषि सामग्री कम्पनी लिमिटेडमार्फत मल उपलब्ध गराइने गरिएको छ । मल पाएका सहकारीले नै किसानलाई मल वितरण गरिरहेका छन् ।