• २८ वैशाख २०८१, शुक्रबार

नेपाललाई श्रमिक होइन सेवा निर्यात गर्ने देशको रूपमा स्थापित गर्न चाहन्छौँ : मन्त्री शर्मा

blog

इन्टिच्युट फर इन्टेग्रेटेड डेभलपमेन्ट स्टडिजले गरेको नेपालमा सूचना प्रविधिको वृद्धिसम्बन्धी राष्ट्रिय प्रसार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, साउन १५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमिक मात्र निर्यात गर्ने देशको पहिचान बदलेर अब नेपाललाई सेवा निर्यात गर्ने देशको रूपमा स्थापित गर्न चाहेको बताउनुभएको छ ।

सोमबार इन्टिच्युट फर इन्टेग्रेटेड डेभलपमेन्ट स्टडिजले गरेको नेपालमा सूचना प्रविधिको वृद्धिसम्बन्धी राष्ट्रिय प्रसार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले यस्तो धारणा राख्नुभएको हो ।

कार्यक्रममा नेपालमा सूचना प्रविधिको समग्र अवस्था र सेवा निर्यातसम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको थियो । प्रतिवेदनलाई उद्धृत गर्नुहुँदै मन्त्री शर्माले सन् २०२२ सम्म एक सय ६ वटा कम्पनी र ६६ हजार ५०९ जना फ्रिलान्सरले नेपालमै बसेर सूचना प्रविधि सेवा निर्यात गरेको तथ्य सार्वजनिक हुनु महत्त्वपूर्ण पक्ष भएको बताउनुभयो ।

‘यसरी ५१५ मिलियन अमेरिकी डलर बराबरको सेवा निर्यात गरी नेपालको कुल गार्हस्थ्य उत्पादनमा १ दशमलव ४ प्रतिशत योगदान गरेको जुन तथ्य प्राप्त भएको छ । यसबाट विदेशी मुद्रा सञ्चितिमा साढे पाँच प्रतिशत योगदान पुगेको छ ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘नेपालका लागि यो निकै सुखद र महत्त्वपूर्ण जानकारी हो । सूचना प्रविधिको सेवा निर्यात गर्ने जनशक्तिमध्ये ८३.५ प्रतिशत २० देखि २९ वर्ष उमेर समूहका युवाहरू सक्रिय रहेको जुन तथ्य सार्वजनिक भएको छ, नेपालको समग्र विकास र यसमा युवा सहभागिताको दृष्टिले पनि यो निकै महत्त्वपूर्ण प्रगति हो ।’’

उहाँले सरकारले सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम अघि बढाएको उल्लेख गर्नुहुँदै यो क्षेत्रका विज्ञहरूको सुझाव लिएर सरकारले नयाँ कार्यक्रमको थालनी र पुराना कार्यक्रम परिमार्जन गर्दै अघि बढ्ने बताउनुभयो ।

‘आधुनिक जीवनको आधार: सूचना प्रविधि र सरकार’ भन्ने मूल नाराका साथ नेपाल सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै  मन्त्री शर्माले सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिएको जानकारी दिनुभयो ।

‘‘नवप्रवर्तन र उद्यमशीलता विकास गर्न स्टार्टअप इको सिस्टम विकास गर्ने, उद्यमशील सोचलाई व्यवसायमा रूपान्तरण गर्न इन्क्युवेशन सेन्टर सञ्चालन गर्ने, नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि निःशुल्क गर्ने, अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्ने, लगानीकर्ताका लागि आवश्यक सबै सूचना उपलब्ध हुने गरी राष्ट्रिय पोर्ट तयार गर्ने, सूचना प्रविधि र नवप्रवर्तनमा आधारित उद्योगका लागि लचिलो श्रम नीति अवलम्बन गर्ने लगायतका व्यवस्था यो वर्षदेखि सुरु गरिएको छ ।’’ मन्त्री शर्माले भन्नुभयो ।


सूचना प्रविधिको उद्योगमा वैदेशिक लगानीको सीमा यसै वर्षदेखि हटाइएको जानकारी दिनुहुँदै मन्त्री शर्माले सूचना प्रविधि सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योगलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न र सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण जडान गर्ने उद्योगले गरेको विदेशी मुद्रा आर्जनको दश प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउने चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा भइसकेको बताउनुभयो ।

सरकारले चालु आर्थिक वर्षमा सूचना प्रविधिमा बिजनेस प्रोसेस आउट सोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ, क्लाउड कम्प्युटिङ जस्ता सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई विदेशी मुद्रामा प्राप्त गरेको आयमा लाग्ने करमा पचास प्रतिशत छुट दिने व्यवस्था मिलाएको जानकारी दिनुहुँदै मन्त्री शर्माले भन्नुभयो, ‘‘यसले देशभित्रै बसेर विभिन्न देशको काम गरी विदेशी मुद्रा आर्जन गर्ने सूचना प्रविधि क्षेत्रका जनशक्तिलाई प्रोत्साहित गर्ने र डिजिटल अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान गर्ने सरकारको अपेक्षा छ ।’’

विश्व बजारमा जुन क्षेत्रमा जनशक्ति माग भइरहेको छ, त्यसको अध्ययन गरी नेपालभित्रै सहज पठनपाठनका लागि पनि सरकारले पहल गर्ने उल्लेख गर्नुहुँदै उहाँले सूचना प्रविधिमा स्नातक गरेका विद्यार्थीहरूलाई सेवा प्रवेशका लागि सहयोग पुग्ने गरी निश्चित अवधि तोकेर तालिम प्रशिक्षणको व्यवस्था गर्ने गरी पनि तयारी गरिरहेको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको आकर्षण बढाउनका साथै उपलब्ध जनशक्तिको क्षमता अभिवृद्धि गर्न सूचना प्रविधि विषयमा स्नातकोत्तर, एम.फिल र विद्यावारिधि गर्ने विद्यार्थीलाई विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा छात्रवृत्ति प्रदान गर्ने र सार्वजनिक सेवा क्षेत्रमा कार्यरत दक्ष जनशक्तिलाई प्रोत्साहन गर्ने कार्यक्रम यसै आर्थिक वर्षदेखि सुरु गरिएको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।

‘‘सूचना प्रविधिको विकास र प्रयोगलाई राष्ट्रिय महत्त्वको क्षेत्रको रूपमा स्थापित गर्न हामीले केही नयाँ अवधारणा अघि सार्नुपर्छ भन्ने सोचिरहेका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘सूचना प्रविधिको अध्ययन अनुसन्धानमा लागेका संस्था र व्यक्तिलाई आविष्कार र नवप्रवर्तनमा थप आकर्षित गर्ने गरी देशभरिबाट हजारौँ प्रतिभाहरू सहभागी हुने गरी राष्ट्रियस्तरको प्रतिस्पर्धा गराउने डिजिटल च्याम्पियनजस्ता कार्यक्रम गर्ने तयारी पनि मन्त्रालयले अघि सारेको छ । हामीले यही वर्ष पहिलोपटक आइटी एक्जिविसन गरेर सूचना प्रविधिको क्षेत्रमा भइरहेका गतिविधिलाई एउटै थलोबाट सार्वजनिक गर्ने तयारी पनि गरिरहेका छौँ ।’’