• ३० वैशाख २०८२, मङ्गलबार

तीन किलोमिटर कालोपत्रे आठ वर्षसम्म पनि अधुरै

blog

तिलाचन पाण्डे

तम्घास, साउन १५ गते  । एउटा सडक निर्माणका लागि सम्झौता गरेको ठेकेदारसँग सात पटकसम्म म्याद थप गर्दासमेत सडकको काम अझै सम्पन्न हुन सकेको छैन । जिल्लाको सदरमुकाम तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी– सूर्यटारी सडकको झन्डै तीन किलोमिटर सडक कालोपत्रे गर्ने कार्य आठ वर्षदेखि अलपत्र हुँदै आएको छ ।

निर्माणको जिम्मा लगेको ठेकेदारको चरम लापरबाहीका कारण पटक पटक काम सम्पन्न गर्न म्याद थप्ने तर पूरा नगर्दा न त सडकको काम पूरा हुन सकेको न त ठेकेदार कम्पनीलाई जिम्मेवार बनाउन सकिएको छ । जसका कारणले यहाँका स्थानीय बासिन्दाले आठ वर्षयता सास्ती भोग्दै आएका छन् ।

पहिलो पटक ठेक्का सम्झौता २०७१ साल असार ३१ गते भएको थियो । सम्झौतामा २०७२ साल चैत ३० गते सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालय पाल्पा र लोहोनी एन्ड ब्रदर्श प्रालि चितवनबिच सम्झौता भएको थियो । सुरुमा पाल्पा सडक डिभिजन सडक कार्यालय हुँदै तम्घास–सिमलटारी प्युठान सडक, सडक पूर्वाधार कार्यालय शिवपुर कपिलवस्तु हुँदै अहिले सडक पूर्वाधार विकास कार्यालय गुल्मीले सडक निर्माण कार्य हेर्ने जिम्मा पाएको छ । 

सडकको अहिले भौतिक प्रगति ९० प्रतिशत, वित्तीय प्रगति ७६ प्रतिशत भएको सडक पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ । कार्यालयले पटक पटक ताकिता गर्दा निर्माण व्यवसायीले काम गर्छु भन्ने काम नगर्ने ठगी गर्ने गरेको छ । ठेकेदारले भनेको समयमा काम पूरा नगरेको सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख इन्जिनियर सचितानन्द चौधरीले बताउनुभयो । 

सडकको केही ठाउँमा नाली, बेस निर्माण र कालोपत्रे गर्ने काम अझै बाँकी रहेको कार्यालयले जनाएको छ । ठेकेदारले अब अन्तिम पटक २०८० साल असारसम्म काम पूरा गर्ने बाचा गरेको थियो तर त्यो बाचा पूरा भएन, ठेकेदारले अन्तिम पटक पनि ठगेरै छाड्यो । तोकिएको समयसम्म पनि कार्य पूरा नगरेकाले ठेक्का तोड्ने गरी कार्यालय अगाडि बढेको चौधरीले बताउनुभयो । स्थानीय रोमबहादुर गुरुङले ठेकेदारको चरम लापरबाहीका कारण सडक निर्माण हुन नसकेको बताउनुभयो । निर्माणको जिम्मा लिने र समयमै कार्य सम्पन्न नगर्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने उहाँको तर्क छ । 

ठेकेदारले सडक कार्यालय र स्थानीयको आँखामा छारो हाल्ने काम गरेको छ । उसले कहिलेकाहीँ काम गरेजस्तो गर्ने तर काम पूरा नगर्ने अनि स्थानीयको होटलमा खाएको बिलको भुक्तानीसमेत नदिई ठग्ने गरेको स्थानीयले बताएका छन् । सडकको तम्घासदेखि खाम्सेपानीसम्म साढे दुई किलोमिटर कालोपत्रे गर्ने गरी सात करोड १९ लाख ८७ हजार  रुपियाँमा निर्माणको जिम्मा दिइएको थियो ।