• ३० वैशाख २०८२, मङ्गलबार

संवैधानिक परिषद्को बैठक मङ्गलबार

blog

काठमाडौँ, साउन १५ गते । प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबिच आइतबार भएको छलफलमा उक्त सहमति भएको हो । 

प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न मङ्गलबार संवैधानिक परिषद्को बैठक बोलाउने तय भएको छ । प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच छलफल भएपछि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो । उहाँले संवैधानिक परिषद्को बैठक मङ्गलबार बोलाउने विषयमा समझदारी भएको बताउनुभयो । 

आचार्यका अनुसार संवैधानिक परिषद्को बैठक बोलाउने र संसद् सञ्चालनबारे पनि नेतृत्वबिच छलफल भएको छ । तीन शीर्ष नेतासँग छलफल भएपछि प्रधानमन्त्रीले अरू नेतासँग छलफल गरेर संसद्लाई अझ प्रभावकारी बनाउन परामर्श गरेको आचार्यले बताउनुभयो ।

देश र जनताका मुद्दामा मिलेर जाउँ भन्ने सन्देशसाथ प्रधानमन्त्रीले छलफल गर्नुभएको आचार्यले प्रस्ट पार्नुभयो । तर एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले नयाँ प्रधानमन्त्री सिफारिससम्बन्धमा मात्र प्रधानमन्त्रीसँग छलफल भएको बताउनुभयो । संवैधानिक परिषद्का बैठक छिट्टै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्नेसम्बन्धमा छलफल भएको बजगाईंले बताउनुभयो ।

प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता र कानुनमन्त्रीको उपस्थितिमा संवैधानिक परिषद्ले गत वैशाख २५ गते हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । संसदीय सुनाइ सकिएपछि गत असार २ गते प्रधानन्यायाधीको जिम्मेवारी सम्हाल्नुभएको थियो । प्रधानन्यायाधीश कार्कीले जिम्मेवारी सम्हालेको ५० दिनपछि साउन २० गते अवकाश लिँदै हुनुहुन्छ ।