• ३० वैशाख २०८२, मङ्गलबार

मानव बेचबिखन नियन्त्रणमा ऐक्यबद्धता

blog

कार्यक्रमका सहभागीहरु । तस्बिर : सावित्री गिरी

साबित्री गिरी 

कोहलपुर, साउन १४ गते । मानव बेचबिखन नियन्त्रणका लागि बाँकेका सरोकारवालाले ऐक्यबद्धता जनाएका छन् । नेपालगन्जमा आइतबार मनाइएको मानव बेचबिखन तथा ओसार पसारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसमा सरोकारवालाले सो ऐक्यबद्धता जनाएका हुन् ।

“मानव बेचबिखनको प्रत्येक प्रभावितलाई समेटौँ, कसैलाई पनि पछाडि नछाडौँ” नाराका साथ युएस एडको आर्थिक सहयोगमा नेपाल सरकारको समन्वय विनरक इन्टरनेशनलले आयोजना गरेको कार्यक्रममा बोल्ने सहभागीले मानव बेचबिखन रोक्न अब स्थानीय तह, प्रदेश सरकार, सङ्घ संस्था तथा सङ्घीय सरकार सबैले मानव बेचबिखनको सवाललाई प्रमुखताका साथ लिनुपर्नेमा जोड दिएका छन् । 

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी तथा मानव बेचबिखन तथा ओसार पसारबिरुद्धको जिल्ला समिति बाँकेका संयोजक विपिन आचार्यले जिल्लामा विभिन्न नाका भए पनि सबै सङ्घ संस्था एउटै जमुनाहा नाकामा मात्र सीमित हुँदा पनि अन्य नाकाबाट हुने यस्ता कार्य रोक्न समस्या भएको धारणा राख्नुभयो । 

साथै, यसविरुद्ध सबैको सक्रियताका साथै स्थानीय सरकारका रूपमा रहेका पालिकाहरूले विशेष कार्यक्रम ल्याएर अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा बाँकेका प्रहरी प्रमुख सन्तोषसिंह राठौरले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगका कारण समुदायमा नकारात्मक क्रियाकलापलाई बढवा दिएको बताउनुभयो । खासगरी सामाजिक सञ्जालले युवापुस्तालाई समेत गलत कार्यमा सक्रिय बनाएका कारण समाजमा अपराधका घट्ना बढेको उहाँले बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद कृष्णा केसीले मानव बेचबिखन तथा ओसार पसारबिरुद्ध प्रदेश सरकार पछाडि रहेको बताउनुभयो । प्रदेश सरकारले यसबिरुद्धमा योजनाहरू निर्माण गर्नुपर्ने र यसकालागि  आफू पनि लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

यस्तै, अधिकारकर्मी केशव कोइरालाले मानव बेचबिखनविरुद्ध पालिकास्तरमा संरचना भएको भए पनि कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो । उहाँले पालिकास्तरमा कार्यरत कर्मचारी, अन्य व्यक्तिलगायत माथिको शोषण कम गर्न वयस्क मनोरञ्जन क्षेत्रहरूको अनुगमन तथा व्यवस्थापन निर्देशिका निर्माण गरिएको जानकारी दिनुभयो । 

कार्यक्रममा बाँके बैजनाथ गाउँपालिकाका कार्यवाहक अध्यक्ष निर्मला रोकाया, बाँके खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक, शक्ति समूह नेपालगन्जका संयोजक निर्मला पौड्याल, नेपालगन्ज उपमहानगरपालिकाका महिला विकास अधिकृत आशा शाही र कोहलपुर नगरपालिका –११  का वडा अध्यक्ष कल्पना शर्मा लगायतले धारणा राख्नुभयो ।