रमेश विश्वकर्मा
गुल्मी, साउन १४ गते । गुल्मीको तम्घासबजारको सडक अहिले पुनः कालोपत्रे गरिएसँगै चिटिक्क देखिएको छ । सडक मिचेर बनाइएका पेटीलाई भत्काएर पुनः कालोपत्रे गरिएसँगै अहिले यहाँको बजारको सुन्दरता बढेको छ ।
रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधिको रातदिनको सक्रियताले सडकको मर्मत स्तरोन्नतिसँगै बजारको सडकको पुनः कालोपत्रे गर्ने काम सकिएको छ । आफैमा साँघुरो बजारभित्रको ठाउँ–ठाउँमा भत्किएका सडकको खाल्डाखुल्डी पुरी गरिएको कालोपत्रेले पैदलयात्री तथा सवारी साधन सञ्चालनमा पहिलेको तुलनामा निकै सहज भएको छ ।
बजारक्षेत्रमा पुनः कालोपत्रे गरेर रोड मार्किङ र क्याटआइ समेत राखिएपछि अहिले तम्घास बजारको सौन्दर्यता समेत बढेको स्थानीयहरूले बताएका छन् । सडक पुनः कालोपत्रे भएपछि सुन्दर र सफा देखिएको छ । बजारका केही स्थानमा सडक पार पर्ने सङ्केतहरू राखिएको छ ।
तम्घासबजार क्षेत्रको पाँच किलोमिटर सडक पुनः कालोपत्रेको काम गरिएको छ । गतवर्ष काम सम्पन्न हुन नसकेर पुनः म्याद थपगरी अहिले काम सम्पन्न भएको इन्जिनियर टीका थापाले बताउनुभयो । बजारक्षेत्रमा पुनः कालोपत्रे गर्ने काम अन्तर्गत एक हजार ४०० घनमिटर कालोपत्रे गर्नुपर्ने थियो । सोअनुसार केही घनमिटरको काम बाँकी रहेको उहाँले बताउनुभयो ।
जीर्ण सडकका कारण तम्घासबजार क्षेत्रमा दुर्घटनाको जोखिम, ट्राफिक व्यवस्थापन तथा बजारको सौन्दर्यतामा असर गरेपछि कालोपत्रे गरिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।