• ३० वैशाख २०८२, मङ्गलबार

महिला तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधार गर्न अघि बढेका छौँ : मुख्यमन्त्री चौधरी

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, साउन १४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सरकार प्रदेशका महिला तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण कार्यक्रमका साथ अघि बढेको बताउनुभएको छ ।

नेपाल महिला सङ्घ दाङले आइतबार घोराहीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले युवा, महिला र सीमान्तकृत समुदायको आर्थिक विकासका लागि प्रदेश सरकार लागि लागेको बताउनुभएको हो । 

भौतिक विकास भन्दापनि आर्थिक विकासलाई जोड दिने प्रदेश सरकारको नीति भएको भन्दै मुख्यमन्त्री चौधरीले घरघरमा कसरी रोजगारी सृजना गर्न सकिन्छ भन्नेतर्फ लुम्बिनी प्रदेश सरकार लागेको बताउनुभयो । मुख्यमन्त्री चौधरीले भन्नुभयो, “प्रदेशको सरकारको मुख्य ध्यान युवा, महिला र सीमान्तकृत समुदायको आर्थिक विकास रहेको छ । त्यही अनुसार प्रदेश सरकारको नीति समेत रहेको छ ।” 

उहाँले थारु, दलित, बादी, जनजातिलगायतका समुदायको आयस्तर वृद्धिका लागि बजेट विनियोजन गरेको भन्दै मुख्यमन्त्री चौधरीले उत्पादन र स्वरोजगार मूलक कार्यक्रमका लागि तयार रहनुपर्ने बताउनुभएको थियो । 

सोही कार्यक्रममा स्वास्थ्यमन्त्री राजु खनालले लुम्बिनी प्रदेशको स्वास्थ्य अवस्थालाई सुधार गर्न प्रदेश सरकार लागि परेको बताउनुभएको छ । जनताले निःशुल्क रूपमा प्राप्त गर्ने स्वास्थ्य र शिक्षालाई जनताको पहुँचमा पुराउनका लागि आफू लागि परेको बताउनुभयो । स्वास्थ्य मन्त्री खनालले भन्नुभयो, “प्रदेशको स्वास्थ्य अवस्थालाई सुधार गर्दै जनताले निःशुल्क रूपमा स्वास्थ्य र शिक्षा प्राप्त गर्ने अवस्था निर्माणका लागि परेका छौ ।” त्यसका लागि सबैले आ–आफ्नो तहबाट सहयोगको समेत आवश्यकता रहेको मन्त्री खनालले बताउनुभएको थियो । 

कार्यक्रममा सहभागी महिलाहरूले मुख्यमन्त्री चौधरी तथा स्वास्थ्यमन्त्री खनाललाई प्रदेश सरकारले महिलाहरूको सशक्तीकरण र महिलाहरूको आर्थिकस्तरलाई सुधार गर्ने कार्यक्रम ल्याउन माग गरेका थिए ।