• ३० वैशाख २०८२, मङ्गलबार

निर्माण व्यवसायीले ३२ करोडभन्दा बढी रकम भुक्तानी पाएनन्

blog

सुजल श्रेष्ठ

प्युठान, साउन १४ गते । जिल्लाका निर्माण व्यवसायीले काम गरेबापतको रकम भुक्तानी पाउन सकेका छैनन् । विभिन्न निर्माण योजना सम्पन्न भए पनि असार मसान्तमा उनीहरुले भुक्तानी पाउन नसकेका हुन् । त्यसैले रकम भुक्तानीको माग गर्दै व्यवसायी आन्दोलित भएका छन् ।

सडक डिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र विभिन्न स्थानीय तहबाट ३० करोडभन्दा बढी रकम निर्माण व्यवसायीले भुक्तानी पाउन बाँकी रहेको निर्माण व्यवसयी सङ्घ प्युठानका अध्यक्ष नवीनकुमार श्रेष्ठले बताउनुभयो । “१३ करोड चानचुन खानेपानी डिभिजनमा, १८-२० करोड सडक डिभिजनमा र २÷३ करोड स्थानीय निकायबाट भुक्तानी लिन बाँकी छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “जसले गर्दा अहिले निर्माण व्यवसायी अप्ठ्यारोमा परेका छन् ।”

रकम भुक्तानी लगायतका मागसहितको आन्दोलनको कार्यक्रम अन्तर्गत आइतबार जिल्ला प्रशासन कार्यालय प्युठानमा एक घण्टा धर्ना दिएको छ । विभिन्न ९ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको, जिल्लाका राजनीतिक दलका नेतृत्वको ध्यानाकर्षण गराएको सङ्घले आज जिल्ला प्रशासनमा धर्ना दिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

चरणबद्ध आन्दोलन अन्तर्गत जिल्लामा पहिलो चरणको आन्दोलनका कार्यक्रम गरिएको र माग पूरा नभए आन्दोलन थप सशक्त बनाउँदै जाने उहाँले बताउनुभयो ।