काठमाडौं, साउन १३ गते । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब भारतको सबैभन्दा पुरानो फुटबल प्रतियोगितामध्ये एक डुरान्ड कप खेल्नका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेको छ ।
वसन्तराज गुरुङको नेतृत्वमा ४२ सदस्यीय टोली भारतीय वायुसेना निगमको जहाजमार्फत भारत प्रस्थान गरेको हो । टोलीलाई बलाधिकृत रथी सरोज प्रताप राणाले जङ्गी अड्डामा एक कार्यक्रमका बीच बिदाइ गर्नुभयो ।
बिदाइ अवसरमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले प्रधान सेनापति प्रभुराम शर्माको अभिप्राय अनुरूप सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई उत्कृष्ट खेल प्रदर्शनका साथै उच्च अनुशासन कायम गर्न निर्देशन दिनु भएको थियो ।
डुरान्ड कपको १३२औँ संस्करणमा त्रिभुवन आर्मी सहित २४ टोलीको सहभागिता रहनेछ । नेपाली टोलीले पहिलो पटक अवसर पाएको हो । आर्मीले अगस्ट ९ मा दिल्ली एफसीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी आर्मीले १४ अगस्ट १४ मा चेन्नाई एफसी र अगस्ट २२ मा हैदराबाद एफसीको सामना गर्नेछ ।
भारतको कोलकाता, गुवाहाटी र कोक्राझारमा अगस्ट ३ देखि सेप्टेम्बर ३ सम्म हुने प्रतियोगितामा विदेश टोलीका रूपमा त्रिभुवन आर्मीसँगै बङ्गलादेश आर्मीले सहभागिता जनाउँदै छ । प्रतियोगितामा २७ वर्षपछि विदेशी टोलीले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । जसबाट प्रत्येक समूहका विजेता र दुई उत्कृष्ट उपविजेताले क्वार्टर फाइनलमा स्थान बनाउनेछन् । समूह ‘ए’, ‘बी’ र ‘सी’ का खेलहरू कोलकातामा हुनेछन् । प्रतियोगिताको फाइनल पनि कोलकाताकै पवित्र विवेकानन्द युवा भारती क्रिरांगन रङ्गशालामा हुनेछ ।
समूह ‘डी’ र समूह ‘इ’ का २ बाहेक अन्य खेल गुवाहाटीको इन्दिरा गान्धी रङ्गशालामा खेलाइने छ । कोक्राझारको साई सेन्टर रङ्गशालामा समूह ‘इ’ का २, समूह ‘एफ’ का खेल र १ क्वार्टरफाइनल गरी ९ खेल हुनेछन् ।
प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले ३० लाख भारतीय रुपियाँ (भारु) प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगितामा गेल्डेन बल, बुट र ग्लोभ जित्नेलाई जनही ३ लाख भारु प्रदान गरिने छ ।