• १ जेठ २०८२, बिहिबार

‘लम्पी स्किन’ रोग नियन्त्रणको माग राखी प्रदर्शन

blog

हरिवनमा पीडित किसानले गरेको प्रदर्शन । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, साउन १२ गते । पशु चौपायामा फैलिरहेको ‘लम्पी स्किन’ रोग नियन्त्रणको माग राख्दै सर्लाहीको हरिवनमा शुक्रबार पीडितहरुले प्रदर्शन गरेका छन् ।  

नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासङ्घ मधेश प्रदेशले किसानका मुद्दा उठान गरी हरिवन बजारक्षेत्रमा मध्यान्ह करिव दुई घण्टा राजमार्ग अवरुद्ध पारेका छन् । महासङ्घले लम्पी स्कीन रोगलाई महामारी घोषणा गरी मरेका पशुको क्षतिपूर्तिको व्यवस्था गर्न र मरेका पशुको बीमा भुक्तानी हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।  

लम्पी स्किनले पशु चौपाया धमाधम मर्दा पनि रोगविरुद्धको खोप लगाउन बेवास्ता गरिएकाले सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले चक्काजाम गरिएको अखिल नेपाल किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिनुभयो । 

यस्तै, गत वर्ष पुस–माघमै बिक्री गरेको उखुको सरकारले प्रदान गर्नुपर्ने अनुदान रकम (प्रतिक्विन्टल ७०) रुपियाँ तत्काल प्रदान गर्न महासङ्घले माग गरेको छ । चिनी उद्योगीबाट बेलैमा भुक्तानी नपाएर हैरान किसानहरु सरकारले सात महिनासम्म अनुदान रकम नदिएको गुनासो गर्नुभयो । 

चक्काजामका क्रममा रासायनिक मलको सहज आपूर्ति गर्नुपर्ने, मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गर्नुपर्नेलगायतको माग अघि सारेका छन् । तराई क्षेत्रमा अहिले खडेरी पर्दा किसानले रोपाइँ गर्न पाएका छैनन् भने रोपेका धान पनि सुक्न थालेको छ । खडेरीले प्रभावित यस्ता किसानलाई राहत प्याकेज प्रदान गर्न माग गरिएको महासङ्घका उपाध्यक्ष उप्रेतीले बताउनुभयो ।