• ३० वैशाख २०८२, मङ्गलबार

खजुरा गाउँपालिकामा सडक निर्माण तीव्र

blog

खजुरा गाउँपालिका वडा नम्बर ८ स्थित रनियापुर गाउँमा सडक कालोपत्रे गरिँदै । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, साउन १२ गते । बाँकेको खजुरा गाउँपालिकाले सडकको नयाँ ट्रयाक निर्माण, सडक मर्मत, आरसिसी-पिसिसी, सडक ग्राभेल तथा सडक कालोपत्रे गर्ने कार्यलाई गत आर्थिक वर्षमा उल्लेख्य प्रगति गरेको छ ।

गत आर्थिक वर्ष २०७९-०८० मा गाउँपालिकाले सडक स्तरोन्नति गर्दै विभिन्न वडासँग जोडिएका २९.२१ किलोमिटर सडकलाई कालोपत्रे गरेको जनाएको छ । गाउँपालिकाभित्रका वडाहरुमा रहेका कच्ची सडकलाई स्तरोन्नति गरी २९.२१ किलोमिटर सडकहरु कालोपत्रे गरिएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक (तुफान)ले जानकारी दिनुभयो ।

त्यसैगरी, गाउँपालिकाले दुई सय ११.९० किलोमिटर सडकको स्तरोन्नति गर्दै ग्राभेल गरेको जनाएको छ । अध्यक्ष विकका अनुसार गत आथिर्क वर्षमा दुई सय ११.९० किलोमिटर सडकमा ग्राभेल गरिएको छ । ६०.८० किलोमिटर सडकको नयाँ ट्रयाक निर्माण गरिएको, १४.०९ किलोमिटर सडकलाई आरसिसी-पिसिसी गरिएको र १५.५६ किलोमिटर सडक मर्मत गरिएको अध्यक्ष बिकले बताउनुभयो ।

“विकासको सबैभन्दा पहिलो खुड्किेलो भनेको सडक हो, सडक नभई यातायातको सञ्जाल जोडिँदैन, यातायात सुविधा नभए त्यहाँका जनताहरुसँग जोडिने र उनीहरुले उत्पादन गरेका वस्तुहरु बजारसम्म पुग्न सक्दैनन् तसर्थः हाम्रो प्राथमिकतामा सडक पहिलो नम्बरमा परेको छ,” अध्यक्ष विकले भन्नुभयो, “गतवर्ष पालिकाभित्र सडकको नयाँ ट्रयाक खोल्ने, सडक स्तरोन्नति गर्दै ग्राभेल र कालोपत्रेका थुप्रै कामहरु गर्‍य ाैं, अबका आउने वर्षमा पनि सडक निर्माण, मर्मत, सुधार र स्तरोन्नतिमा जनताको अपेक्षा अनुसारको काम गर्ने प्रयास गर्नेछौं ।” 

“खजुरा गाउँपालिकामा ८ वटा वडा छन्, प्रत्येक वडाका एक गाउँदेखि अर्को गाउँसम्म कालोपत्रे सडक सञ्जालले जोड्ने योजनामा छौं, प्रत्येक टोलटोलमा कालोपत्रे सडक निर्माण गरेर “धुलोरहित गाउँ” र ढल तथा नालाहरुको पनि निर्माण तथा स्तरोन्नति गर्दै पानीको निकास गराएर “डुबानमुक्त गाउँ” निर्माण गरी खजुरालाई समृद्ध बनाउने योजनामा छौं,” अध्यक्ष विकले भन्नुभयो ।

गाउँपालिकाको आफ्नो बजेट, प्रदेश सरकार र सङ्घीय सरकारको समपूरक बजेट तथा प्रदेश सरकारको क्रमानुगत बजेटबाट उक्त सडकहरु निर्माण र स्तरोन्नति गरिएको गाउँपालिकाले जनाएको छ ।