• ९ मंसिर २०८१, आइतबार

नाइजरको सैन्य विद्रोह अन्तिम होइनः फ्रान्स

blog

नियामे, साउन १२ गते । फ्रान्सले पश्चिम अफ्रिकी मुलुक नाइजरमा बुधबार राति भएको सैनिक विद्रोह अन्तिम नभएको उल्लेख गर्दै त्यसमा सैन्य अधिकारको समर्थन भएकाले सत्ता विप्लवमा लागेकाले जितेका बताएको छ ।

नाइजरलाई उपनिवेश बनाएको फ्रान्सले वर्तमान परिस्थितिको विश्लेषण गर्दै सैन्य विद्रोहलाई अन्तिम मान्न नसकिने बताएको हो । सबै सैन्य अधिकारी एकताबद्ध नरहेका सङ्केत गर्दै फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले उक्त कुरा बताउनुभएको हो ।

सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्थ गरेको दाबी गरेको छ । सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको छ भने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ ।

फ्रान्सेली विदेशमन्त्रीले सैनिक घेरामा राष्ट्रपति निवासमा रहेका राष्ट्रपति बाजुमसँग राष्ट्रपति इम्यानुएल म्याक्रोँले टेलिफोन वार्ता गर्नुभएको जानकारी दिँदै बन्दी बनाइएका राष्ट्रपति स्वस्थ रहेको बताउनुभएको छ । “नाइजरक राष्ट्रपतिसँग सम्पर्क कायम गर्न सकिन्छ, उहाँ अगम्य हुनुहुन्न,” उहाँले भन्नुभएको छ ।

अफ्रिकी तथा अन्य अन्तर्राष्ट्रिय संस्था, नाइजरका सहयोगी जर्मनी संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ, फ्रान्सलगायत देशका साथै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सैन्य विद्रोहको निन्दा गर्दै राष्ट्रपति बाजुमलाई अविलम्ब रिहा गर्न आह्वान गर्नुभएको छ ।

सैनिक घेरामा रहनुभएका नाइजरका राष्ट्रपति मोहम्मद बाजुमले ठूलो सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई जोगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले  प्रजातन्त्र र स्वतन्त्रताका पक्षधर सबै नाइजरवासी आफ्नो पक्षमा रहेका बताउनुभएको हो । उहाँले लोकतन्त्रका निम्ति साहसपूर्वक लड्ने दृढता पनि व्यक्त गर्नुभएको हो ।

नाइजरका विदेश मन्त्री हसौमी मसुदुउले देशको वैध शक्ति निर्वाचित राष्ट्रपति भएकाले विद्रोहमा उत्रेका सबै सिपाहीलाई काममा फर्कन र वार्ताका माध्यमबाट समस्याको निकास खोज्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले गणतन्त्रको विपक्षमा जान नसकिने पनि स्पष्ट गर्नुभएको छ ।

भूपरिवेष्टित राष्ट्र नाइजर विश्वकै निर्धनतम राष्ट्रमध्येको एक हो । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएपछि चारपटक यस्ता विद्रोह भइसकेका छन् । राष्ट्रपति बाजुमविरुद्ध पनि दुई पटक विद्रोह भएको छ । रासस/एएफपी